काठमाडौं – सरकारले सिन्डिकेट माग गर्दै देशभरि यातायात ठप्प परेका यातायात व्यवसायी पक्राउलाई तीब्रता दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला काठमाडौंबाट पक्राउ परेका छन्। उनी भृकुटीमण्डपस्थित रिपोर्टस क्लवको कार्यक्रममा आउने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सुरक्षा अंगका जिल्ला युनिटले धमाधम व्यवसायी पक्राउ गर्न थालेको गृह मन्त्रालय स्रोतले बतायो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे एवं महासचिव गाहा मगर पक्राउ परेका छन्। बन्जाडेलाई बुटवलस्थित ट्राफिक चोक र गाहालाइ दीपनगरबाट प्रक्राउ गरिएको जिप्रका रुपन्देहीले जनाएको छ।
यातायात व्यवसायीले विद्यमान ऐन एवं कानुनविरुद्ध सिन्डिकेट लाद्न माग आज देशभरि यातायात ठप्प पारेका छन्। साझा यातायात बाहेक सरकारी स्वामित्वका बस नभएको अवस्थामा निजी व्यवसायीको हड्तालबाट देशभरिकै सर्वसाधारण पीडित भएका छन्।
सरकारले यातायात व्यवसायी कम्पनी ऐनअनुसार दर्ता भएर सञ्चालन हुनुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्दे्शिका संशोधन गरेपछि व्यवसायी आन्दोलित भएका हुन्।
यातायात समिति खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै आएका व्यवसायीहरुले देशभर रुट खुला गरी ल्याइएको यातायात व्यवस्थापन कार्यविधि निर्दे्शिका खारेजीको माग गर्दै आज देशभरि गाडी ग्यारेजमा थन्क्याएका हुन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन हडतालको तयारी गरेका छन्।
प्रतिक्रिया