काठमाडौं – फागुन १० गते एनसेलको कार्यालय तथा टावरहरुमा भएको बम विस्फोट तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हात रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । विप्लव समूहले मुलुकका २१ जिल्लामा बम विस्फोट र टेलिफोन सेवा प्रदायक संस्था एनसेलका कार्यालय र टावरमाथि आगजनी समेत गरेको थियो ।
आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा फागुन १० र ११ गते मुलुकका विभिन्न ठाउँमा भएका बम विस्फोट र आगजनीबारे जानकारी दिँदै उक्त घटनामा विप्लवको पार्टीको संलग्नता रहेको अनुसन्धानले देखाएको बताए। उनले भने, ’संविधान र राज्यविरोधी समूह, विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पाइएको छ। जिम्मेवारी कसैले पनि लिएको छैन।’
विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’
गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको बताए । नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।
उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, विप्लव जस्ता सरकार र सत्ता विरोधी तत्व र सामाजिक आपराधिक तत्वहरु रहेको बताए । गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए । ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने ।
प्रतिक्रिया