काठमाण्डु- उत्तरी चीनमा हालै ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढ्न थालेपछि त्यसले विश्वभर चिन्ता निम्त्याएको छ ।
विश्वभरि ७० लाख मानिसको ज्यान लिने गरी चीनमै देखिएको कोभिड सङ्क्रमणले निम्त्याएको संकटबारे प्रारम्भिक रूपमा सचेत गराइएको पाँच वर्षपछि यो भाइरस देखिएको हो ।
चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको सङ्क्रमण बढिरहेको पाइएको छ । तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन् ।
एचएमपीभीको सङ्क्रमण भारतमा पनि पुष्टि गरिएको छ । संयुक्त राज्य अमेरिकाको ’सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी) का अनुसार सबैभन्दा पहिला सन् २००१ मा उक्त भाइरसको पहिचान गरिएको थियो । तर उक्त भाइरस त्यसभन्दा दशकौँपहिलेदेखि अस्तित्वमा थियो ।
एचएमपीभीका सामान्य लक्षणहरू रुघाखोकी वा फ्लूका लक्षणजस्तै हुन्छन् । त्यसमा खोकी लाग्ने, ज्वरो आउने, नाक जाम हुने र छिटोछिटो सास फुल्ने हुन्छ । कतिपयको हकमा लक्षणहरू गम्भीर पनि हुन सक्छन् ।
सबै उमेर समूहका मानिसमा त्यसले ब्रोङ्काइटिस अथवा निमोनिआसहित श्वासनलीको माथिल्लो र तल्लो भागमा समस्या निम्त्याउन सक्छ ।
सीडीसीका अनुसार हिउँदको अन्त्यतिर तथा वसन्त ऋतुमा जाडो तथा गर्मी खासै नहुने ठाउँमा यो सङ्क्रमण बढी देखिने गरेको छ ।
एचएमपीभी विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा त्यसको माध्यमबाट अर्को व्यक्तिमा सर्छ ।
सङ्क्रमित व्यक्तिलाई छुँदा अथवा हात मिलाउँदा वा सङ्क्रमित व्यक्तिले छोएका सामान वा सतह छोएर त्यही हात मुख, नाक वा आँखामा लग्दा पनि सङ्क्रमण हुन सक्छ ।
एचएमपीभी सामान्यतया चिसो मौसममा फैलिन्छ, जुन समयमा मानिसहरू घरभित्र बढी बिताउँछन् ।
यद्यपि दशकौँदेखि यो भाइरस अस्तित्वमा रहेको पृष्ठभूमिमा विज्ञहरूका अनुसार त्यसविरुद्ध विश्वमा ठोस रूपमा प्रतिरोधी क्षमता विकास भइसकेको हुनुपर्छ ।
केही स्थानीय समाचारहरूमा कोभिड महामारीको सुरुवाती दिनको अवस्थासँग तुलना गरिएको छ ।
सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेशनका संस्थापक निर्देशक टुलिओ डे ओलिभिएराका अनुसार एचएमपीभी यो हिउँदमा चीनमा देखिएका चारवटा भाइरसमध्ये एउटा हो। बाँकी रेस्पिरेटरी सिन्सिशल भाइरस, कोभिड र इन्फ्लुएन्जा हुन् ।
प्रतिक्रिया