काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्या प्रकरणका दोषीलाई कानुनको कठघरामा ल्याउन गम्भीर भएको बताएका छन्। बुधबार संसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धानमा सरकार गम्भी भएको बताए।
कांग्रेस सांसद डिला संग्रौलाले सोधेको ’निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई किन कारबाही भएन? देशभरी बढिरहेका बलात्कारी र हत्यारालाई कहिले कारबाही हुन्छ?’ भन्ने प्रश्नको जवाफमा गृहमन्त्री थापाले सबै प्रकारका अपराध कार्यलाई नियन्त्रण गर्न नेपाल सरकार कटिबद्ध भएर लागेको समेत बताए। ’पाशविक हत्या थियो। यो सम्बन्धमा अनुसन्धान जारी रहेको छ। सरकार यो विषयमा गम्भीर छ।
अनुसन्धानको कार्य अगाडि बढिरहेको छ। अनुसन्धानमा लापरबाहीको निम्ति कारबाही गरिसकिएको छ’, मन्त्री थापाले भने, ’आवश्यक अनुसन्धान अझै पनि जारी रहेको छ। यो अपराधसित सम्बन्धित कसैलाई पनि छुट दिन सकिँदैन। अपराधीलाई निश्चय नै कानुनको कठघरामा ल्याउनेछु। अनुसन्धान कार्यलाई तीव्र पारेका छौँ।’ संग्रौलाले ६ महिना हुँदा पनि अपराधी पत्ता नलागेको र सरकारले नै अपराधीलाई लुकाएको आशयको पूरक प्रश्न राखेकी थिइन्। उनको प्रश्न थियो, ’घटनाको ६ महिना भयो।
सरकारका निकायले प्रमाण किन नष्ट र्गयो? अपराधी कहाँ लुकेका छन्, बालुवाटार र सिंहदरबारको कुर्सीमा?’ यसमा गृहमन्त्रीको जवाफ थियो, ’सरकारले जति पनि हत्या हिंसा भइरहेका छन् तिनमा ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याइसकेको छ। बाँकीलाई कानुनको कठघरामा ल्याउन प्रयत्नशील छ। कुनै घटनाका दोषीलाई पत्ता लगाउन समय लागेझैँ यो प्रकरणका अपराधीलाई पत्ता लगाउन समय लागेको छ। अपराधी बालुवाटार वा सिंहदरबार जहाँसुकै हुन्, कानुनको कठघरामा ल्याइनेछ।’
निर्मलाको प्रकरणमा सांसद गगनकुमार थापाले ’उपप्रधानमन्त्रीले एक सार्वजनिक कार्यक्रममा पाँच दिनमा पक्राउ पर्छ भन्नुभएको थियो यसको बारेमा गृहमन्त्रीलाई थाहा छ कि छैन? गृह मन्त्रालयले कसरी लिएको छ?’ भनेर गृहमन्त्रीलाई प्रश्न सोधेका थिए। जसमा गृहमन्त्रीले भनेका थिए, ’उपप्रधान तथा रक्षामन्त्रीले सार्वजनिक रूपमा के भन्नुभयो भन्ने मलाई जानकारी छैन। पाँच दिनभित्र पक्राउ गर्नुपर्ने भन्नुभएको भए छिट्टै पक्राउ पर्ने भन्नुभएको होला। केही सन्दिग्ध व्यक्तिहरूलाई सरकारले कठघराभित्र ल्याएको अवस्थामा त्यस्तो कुरा आएको होला।
संन्दिग्धहरूले बयान दिएको तर प्रमाण सावित गर्ने प्रक्रिया पूरा नभएकाले मुक्त गर्दै गएका छौँ। सोही क्रममा त्यस्तो भन्नुभएको होला।’ कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले पनि उक्त विषयमा प्रश्न गरेका थिए। उनले भने, ’९६ प्रतिशत पक्राउ गरिएका भन्नुभयो बाँकी ४ प्रतिशत कहिले पक्राउ पर्छन्? निर्मलाको न्यायका लागि अनशनमा बस्नेलाई विभाजित गर्ने काम किन गरियो?’ गृहमन्त्रीले भने, ’अनशनमा रहेकालाई धम्क्याउने गरिएको छैन। आन्दोलन गर्नु पीडितको अधिकार हो। कुनै पनि निकायले त्यस्तो गरेको छैन।
शतप्रतिशत पक्राउ गर्ने काम पूरा गरिने नै छ। कसैलाई धम्की दिएको भए छानबिन हुन्छ।’ गृहमन्त्रीले थपे, ’संसारको जुनसुकै कुनामा लुकेका भए पनि अपराधीलाई पक्राउ गरिनेछ।’ राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले भने, ’निर्मला पन्तका अपराधी पत्ता लागेको गृहमन्त्रीबाट नै आएको थियो? अनुसन्धान प्रक्रिया नटुंगिँदै र शंकास्पद व्यक्ति पक्राउ गर्दैमा त्यस्तो अभिव्यक्ति किन आएको हो?’ ’राज्यलाई प्राप्त सूचनाका आधारमा मैले भनेको थिएँ। सिआइबीको टोलीले दिएको सूचनालाई सदनमा राखेको थिए’, गृहमन्त्रीले जवाफमा भने, ’साविती बयानका आधारमा यहाँ जानकारी दिएको थिएँ। पछि अरू छानबिनमा प्रमाणित नभएकाले मुक्त गरिएको थियो।
अपूरा अधुरा सूचना आएकाले त्यसो गरिएको हो।’ कांग्रेस सांसद सुजाता परियारको निर्मला बलात्कार र हत्या प्रकरणमा गृहमन्त्रीलाई प्रश्न थियो, ’पटकपटक अनुसन्धान भइरहेको भन्नुभएको छ अनुसन्धान कहिलेसम्म हुन्छ? हत्यारा कहिले पत्ता लाग्छ?’ गृहमन्त्रीको जवाफ थियो, ’जे भइरहेको छ मैले त्यो वास्तविकता मैले भनेको हो। सरकारले जे गरिरहेको छ मैले त्यो भनिरहेको छु। निर्मला प्रकरणका अपराधीलाई सरकार छिटोभन्दा छिटो कानुनको कठघरामा ल्याउन प्रतिबद्ध छ। संकल्प अनुसार हामी प्रयासरत छौँ। अनुसन्धान गर्दै जाँदा लामो समय लाग्न सक्छ। विश्वमा केही यस्ता घटनामा लामो समय लाग्न सक्छ।’
नेकपाका सांसद महेश बस्नेतले भने निर्मला बलात्कार र हत्या प्रकरणमा अनुसन्धानमा लापरबाही गर्ने प्रहरी एसपी डिल्लीराज विष्टलाई नियुक्त गर्ने नेतृत्वमाथि छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनको सुझावमिश्रित प्रश्न थियो, ’निर्मला बलात्कार र हत्या प्रकरण मानवअधिकारवादी र पत्रकारका लागि गरिखाने र प्रतिपक्षीलाई राजनीति गर्ने मेलो भएको छ। डिल्लीराज विष्टलाई नियुक्त गर्नेलाई कारबाही गर्नेबारे सोच्नुभएको छ कि?’ गृहमन्त्रीले जवाफमा विष्ट निलम्बनमा परिसकेको र बाँकी काम भइरहेको बताएका थिए।
प्रतिक्रिया