काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीमा लामो समयदेखी रोकिएको बढुवा सुचारु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्रीमा नियुक्त भएको तीन दिनपछि प्रहरी मुख्यालय नक्साल पुगेका थापाले प्रहरीमा देखिएको सरुवा र बढुवाको समस्यालाई स्थायी ढंगले समाधान गर्ने दाबी गरे ।
नेपाल प्रहरीमा चुनाव र नेतृत्वको असक्षमताले तल्लो तहका कर्मचारीको सरुवा लामो समयदेखी रोकिदै आएको छ । माथिल्लो तहका कर्मचारीको बढुवा र सरुवामा राजनितिक नेतृत्वले चांसो देखाएपनि तल्लो तहको सरुवा–बढुवा रोकिएको भन्दै प्रहरीभित्र चर्को असन्तुष्टी छ ।
नेपाल प्रहरीमा देखिएको रासन भत्ता र ब्यारेकीय संरचानालाई समेत सुधार गर्ने प्रतिवद्धता मन्त्री थापाले व्यक्त गरेका छन् ।
माओवादी नेता समेत रहेका मन्त्री थापाले कार्यक्रममा नेपाल प्रहरीमा अहिले भइरहेको स्रोत साधनको उचित ढंगले व्यवस्थापन गरेर प्रहरीभित्र सुधार ल्याउने योजना समेत सुनाएका थिए ।
उनले प्रहरीभित्र तल्लो तहका कर्मचारीहरुले १७ घण्टाभन्दा बढी ड्युटी गर्ने गरेको र केहीले शक्तिको भरमा काम नै नगरी जागिर खाइरहेको भन्दै त्यसको लागी छिट्टै नयां योजना ल्याउने बताए ।
गृहमन्त्री थापाले सात वटै प्रदेशका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)हरुसंग भिडियो कन्फरेन्समार्फत सबै प्रदेशको सुरक्षा स्थितिको बारेमा समेत जानकारी लिएका थिए । प्रदेशका एआईजीहरुसंगको भिडियो कन्फरेन्सपछि गृहमन्त्रीले प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुलाई सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा थापाले नेपाल प्रहरीको बजेट समेत बढाएर प्रहरीलाई स्रोत साधन सम्पन्न बनाउने घोषणा समेत गरे । उनले यसअघि गृहमन्त्री नियुक्त भएकै दिन नेपाल प्रहरीलाई विश्वकै नमुना प्रहरी बनाउने बताएका थिए । बुधवार गृहमन्त्री थापाले प्रहरीमा राजनितिक हस्तक्षेप हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया