काठमाडौ – नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा परेका डीएसपी संजिव शर्मा दासको निलम्बन सम्बन्धि निर्णय यथास्थितिमा राख्न सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रामेछापको प्रहरी प्रमुखमा कार्यरत रहँदा बलात्कार पछी हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यहि साउन ४ गते निलम्बन गरिएको थियो ।
निलम्बनपछी डीएसपी दासले आफ्नो निलम्बन गैरकानुनी रहेको जिकिर गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसबेला कारबाही स्वरूप आफुले नसिहत पाएको र एउटा आरोपमा दोहोरो कारबाही गरेर आफू माथी अन्याय गर्न थालिएको उनको जिकिरमा सर्बोच्च अदालतका प्रधानन्यायधिस गोपाल पराजुलीको एकल इजलासले उनि बिरुद्धको निलम्बन लगायतका कारबाहीका प्रक्रिया यथास्थितिमा राख्न बिपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
डीएसपी दासले गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बिपक्षी बनाएर गत सोमबार सर्बोच्चमा रिट दायर गरेका थिए । सुनुवाईको क्रममा सर्बोच्चले बिपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
डीएसपी बाट एसपी बढुवामा ३५ नम्बरको सिफारिशमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए। उनीसँगै घटनालाई दबाएको र पीडितलाई सहयोग नगरेको भन्दै १२ जना प्रहरीलाई कारबाही गरेको थियो।
तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सुन्तलीको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख रहेका दासले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आएको थियो।
बलात्कारी अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए ।
यसबीचमा ५ वर्षसम्म लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले उक्त घटनाको अनुसन्धान अगाडी बढाएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा मुख्य अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समन्वयमा गत महिना भारतको अण्डमान एण्ड निकोबार टापुबाट राउतलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान सम्पन्न गरी सर्वश्वसहित जन्मकैदको मागदावी सहित जिल्ला सरकारी वकिलको कार्यालय रामेछाप मार्फत रामेछाप जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुख्य अभियुक्त राउत अहिले मुद्दा पुर्पक्षका लागी रामेछाप जिल्ला कारागारमा थुनामा छन् । रामेछाप जिल्ला अदालतका न्यायधिस किरण सिवाकोटीको एकल इजलासबाट राउतलाई मुद्दा पुर्पक्षका लागी थुनामा राख्ने आदेश भएको थियो ।
प्रतिक्रिया