काठमाण्डु – काठमाण्डु विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करीब ४ वर्षदेखिको आपसी विवाद सुल्झिएको छ ।
विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझाव सहितको प्रतिवेदन शुक्रबारको ९८औं सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित ७ सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको छ । प्रतिवेदनअनुसार ३ महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेको समिति गठन गरिएको छ ।
समितिमा विश्वविद्यालयबाट प्रा.डा. ऋषिकेश वाग्ले र प्रा.डा. मनोज हुमागाईं तथा अस्पतालका तर्फबाट डा. विराजमान कर्माचार्य र प्रा.डा. राजीब श्रेष्ठ रहेका छन् । समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ ।
सम्झौता नहुञ्जेल दुवै संस्थाको सहकार्यको दिनचर्या सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको ३ सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ ।
यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गरेका थिए । विक्रम संवत् २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिएपछि गत साउन ३० गतेको ९७औं सभाको बैठकको मार्गदर्शन अनुसार आपसी संवाद थाल्ने निधो भएको थियो ।
प्रधानमन्त्री ओलीले विवाद मिलाउन गठित समितिले उचित र सघन परामर्श समेत गरेर समाधान निकाल्न सकेकामा खुशी व्यक्त गर्दै यसले नयाँ क्षितिज उघारेको बताए । प्रतिवेदनले नयाँ एकतासहित भविष्यको नयाँ गोरेटो तय गरेको छ, यसलाई नबिगारिकन कार्यान्वयनमा लान सकेमा पक्कै प्रतिफल राम्रो आउने सक्ने उनले बताए ।
विवाद मिलाउने सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कूल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. मनोज हुमागाईं, स्कूल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा.डा. राजीब श्रेष्ठ रहेका थिए ।
बैठकले विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरूले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनर्विचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन दिएको छ ।
उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी मेडिकल संकायका शिक्षकहरूले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको छ । २–२ कार्यकाल उपकुलपति भइसकेका व्यक्ति समेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको छ ।
पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रकाशन गरेको सूचनाका आधारमा दरखास्त प्रकाशन भइसकेको छ ।
प्रतिक्रिया