काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।
राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले लाइन होटलहरूमा अखाद्य खाना खुवाउने गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरूको अनुगमन गरेका हुन् ।
सो क्रममा धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित दर्जनौ लाइन होटलहरूमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलमा पुगेका मुख्यमन्त्री सिंहले ती होटलहरूको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए ।
मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरूलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमी कमजोरी फेला परेमा बन्द गर्ने चेतावनीसमेत उनले दिए । मुख्यमन्त्री सिंहले बसका चालक र बस धनीलाई कमिसनका लागि त्यस्ता होटलहरूमा बस नरोक्न समेत आग्रह गरे ।
प्रतिक्रिया