एक लाख १ हजार घरको पुनर्निर्माण सकियो, दोस्रो किस्ताका लागि तीन लाखको निवेदन

एक लाख १ हजार घरको पुनर्निर्माण सकियो, दोस्रो किस्ताका लागि तीन लाखको निवेदन


काठमाडौं– निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्प पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ।

बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन्।
पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन् । लाभग्राहीले निवेदन दिएपश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन्।

तथ्यांकअनुसार दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये २ लाख ८८ हजार २३ जना लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन्। बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुुसालले बताए।

‘दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनर्निर्माण उत्साहजनक देखिएको हो,’ उनले भने।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन्।
भूकम्प अति प्रभावितका साथै कम प्रभावित जिल्लाहरुमा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या बृद्धि भइरहेको छ। कम प्रभावित लमजुङका ६ सय ५२, चितवनका ५ सय २ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन्।

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार बिहीबारसम्म ३ लाख ३८ हजार २९ घर पुनर्निर्माण भइरहेका छन् भने १ लाख १ हजार ६ सय ९४ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।