ह्वावेले उत्कृष्ट नेपाली विद्यार्थीलाई चीन भ्रमणमा लैजाने

ह्वावेले उत्कृष्ट नेपाली विद्यार्थीलाई चीन भ्रमणमा लैजाने


काठमाण्डु – ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धताअन्तर्गत प्रतिभा तथा परम्परा आदानप्रदानका लागि सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गूड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने भएका छन् ।

कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको छ, जसले युवा विद्यार्थीलाई डिजिटल नविनता र सामाजिक समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

कडा प्रतिस्पर्धा र मूल्यांकन प्रक्रियापछि ६ विद्यार्थीहरू आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की ३०० भन्दा बढी आवेदकहरूमध्येबाट विजेता बनेका छन् ।

विजेताहरूको यात्रा अब चीनमा चल्नेछ, जहाँ उनीहरूले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग ‘टेक फर गूड’ क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । विश्व स्तरीय तालिम, मार्गदर्शन र वास्तविक व्यावसायिक अनुभव समेत विद्यार्थीहरूले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

चीनमा हुने क्षेत्रीय प्रतियोगिताले विद्यार्थीहरूलाई डिजिटल पावर सोलुसनहरू, क्लाउड कम्प्युटिङ र कृत्रिम बुद्धिमत्तामा प्रत्यक्ष अनुभव दिनेछ । उनीहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय व्यावसायिक नेतृत्वहरूसँग भेटघाट गर्ने अवसर पनि प्रदान गरिने जनाइएको छ । उनीहरूले ह्वावेका विश्वव्यापी अनुसन्धान र विकास केन्द्रका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यशालाहरूमा सहभागिता जनाउनेछन् ।

प्रतिस्पर्धाका अतिरिक्त सहभागीहरूले चीनको प्रगतिशील डिजिटल परिदृश्यको अन्वेषण गर्ने, उदाउँदा प्रविधि कम्पनीहरूसँग अन्तर्क्रिया गर्ने र तीव्र प्रविधि विकाससँग जोडिएको संसारको निर्माणमा आईसीटीको भूमिका अझ गहिरो रूपमा बुझ्ने अवसर प्राप्त गर्नेछन् ।

कम्पनीले भनेको छ, ‘यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रमले स्थानीय आईसीटी प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नविनता र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ ।’

नेपालमा २०१९ मा कार्यक्रम सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ । सिड्स फर द फ्युचर कार्यक्रम ह्वावेको विश्वव्यापी (सीएसआर) प्रयास अन्तर्गत २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८ हजारभन्दा बढी विद्यार्थीले फाइदा उठाइसकेका छन् ।

नेपालमा कार्यक्रमले उत्कृष्ट विद्यार्थीलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू र अन्तिम अन्तर्वार्ता समावेश छन् । क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, फाइभ जी र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।