गम्भीर मानवअधिकार हननको घटनामा संलग्नको नाम कालोसूचीमा

गम्भीर मानवअधिकार हननको घटनामा संलग्नको नाम कालोसूचीमा


काठमाडाैं- राष्ट्रिय मानवअधिकार आयोगले दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानव अधिकार हननका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ । आयोगले ०५७ जेठदेखि परेको उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो । तर, अहिलेसम्म आफूले सिफारिस गरेका व्यक्तिमाथि सरकारले कारबाही नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको हो ।

आयोगको १८आैँ वार्षिकोत्सव कार्यक्रममा आइतबार अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका दोषीको नाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए । आयोगको वर्तमान कार्यसमिति आउनुअघि नै कारबाही गर्न ७३५ र त्यसपछि ८२ वटा सिफारिस भएका छन् । आयोगले गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनाका दोषीलाई कालोसूची नाम समावेश गर्ने तयारी गरेको हो ।

आयोगको अभिलेखमा द्वन्द्वका क्रममा जनकपुरमा बेपत्तापछि हत्या गरिएका दुर्गेश लाभसहित पाँच विद्यार्थीका विषयमा कारबाही सिफारिस गरिएका धनुषाका तत्कालीन डिएसपी (अवकाशप्राप्त) कुवेरसिंह राना, धनुषाका सेनाका भिमानस्थित ब्यारेकमा कार्यरत तत्कालीन मेजर अनुप अधिकारी, धनुषाको तत्कालीन प्रजिअ रेवतीराज काफ्ले, धनुषाका तत्कालीन एसएसपी चूडाबहादुर श्रेष्ठलगायतलाई कारबाही सिफारिस भएको एक दशक बितिसकेको छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ ।