काठमाण्डु–एप्पलले बहुप्रतिक्षित आइफोन सिरिज- १६ सार्वजनिक गरेको छ ।
‘इट्स ग्लो टाइम’ इभेन्ट आयोजना गर्दै एप्पलले ९ सेप्टेम्बरमा आईफोन-१६, आईफोन -१६ प्लस, आईफोन-१६ प्रो र आईफोन-१६ प्रो म्याक्स गरी आईफोन सिरिजका चारवटा भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार आईफोन-१६ सिरिज जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेर बनाइएकाे छ ।
एप्पल कम्पनीले दिएको जानकारी अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेको भन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि एप्पल इन्टेलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुने छ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्जनमा मात्र सुरु गरिने छ ।
क्यामरा कन्ट्रोल
आइफोन-१६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुने छ ।
कम्पनीको दाबी छ कि यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने छ ।
केही महिनापछि एप्पल इन्टेलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोलमार्फत् भिजुअल इन्टेलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।
एक्सन बटन
आइफोन-१६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङ्सनमा सजिलैसँग जान सक्छन् ।
उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ्ग वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सनहरु पनि यसमा मिल्ने छ ।
आइफोन–१६ सिरिजमा एप्पल इन्टेलिजेन्सका लागि विशेष गरी A18 चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ ।
यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन-१५ मा A16 बायोनिक चिप प्रयोग गरिएको थियो ।
क्यामरा
आइफोन-१६ मा ४८ मेगापिक्सलको डुअल क्यामरा सिस्टम छ । साथै टेलिफोटो लेन्स द्दह जुमको क्षमताको छ ।
ब्याट्री
आइफोन-१६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन-१६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।
कलर, डिस्प्ले र क्यापासिटी
आइफोन-१६ र आइफोन-१६ प्लस कुल पाँच रङ्ग (कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो रङ्गमा उपलब्ध छन् ।
आइफोन-१६ प्रो र प्रोम्याक्स भने चार रङ्ग (कालो, सेतो, क्रिम कलर र हल्का सुनौलो रङ्ग) मा उपलब्ध छन् ।
आइफोन-१६ को साइज ६.१ इन्चको छ । आइफोन-१६ प्लस ६.७ इन्च र आइफोन-१६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन-१६ प्रोको साइज ६.३ इन्च र आइफोन-१६ प्रोम्याक्सको साइज ६.९ इन्चको छ ।
आइफोन-१६ र आइफोन-१६ प्लस तीन भेरियन्ट (१२८ जीबी, २५६ जीबी र ५१२ जीबी)मा उपलब्ध छन् ।
आइफोन-१६ प्रोका चार भेरियन्ट (१२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी) छन् ।
आइफोन प्रोम्याक्स तीन भेरियन्ट (२५६ जीबी, ५१२ जीबी र १ टीबी) मा उपलब्ध छन् ।
यी फोनका सबै मोडेलहरु १३ सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिन्छ ।
यी फोनहरुको मूल्य मोडल र क्षमता अनुसार फरक फरक छन् । आइफोन-१६ सिरिजका मोबाइलहरु १ लाख २७ हजार ९०० रुपैयाँदेखि २ लाख ३२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।
प्रतिक्रिया