आईसीसी क्रिकेट : ओमानसँग नेपाल १८ रनले पराजित

आईसीसी क्रिकेट : ओमानसँग नेपाल १८ रनले पराजित


काठमाडौं – आईसीसी क्रिकेट लिग–२ मा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा नेपाल १८ रनले पराजित भएको हो । त्रिकोणात्मक आईसीसी क्रिकेट लिग–२ सिरिजमा नेपालसहित अमेरिका र ओमान रहेका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमानले १९८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो । नेपालका लागि भरोसा ठानिएका पारस खड्का ३ रनमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका थिए ।

नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले सम्हालिएर खेल्दै अर्धशतक बनाए । उनले ५ चौकाको मद्दतमा ५५ रन बनाए । त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ छक्का र ५ चौकाको मद्दतमा ३६ रन जोडे । उनले शरदसँग ६२ रनको साझेदारी गरे । यसैगरी नेपालका लागि सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै २७ बलमा २८ रन बनाए । उनले १ छक्का र ३ चौका हिर्काए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए । त्यस्तै एक दिवसीयमा डेब्यू गरेका सुशन भारीले ३ विकेट हात पारे ।