आईसीसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित


काठमाण्डु-आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा ग¥यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन् । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

योसँगै नेपालले लिग– २ मा ९ खेलमा सात खेल गुमाएको छ । लिग–२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका भने १० खेलमा सात जित निकालेको छ । अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्ड, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न लागेको हो ।