आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाकाे लगातार दोस्रो जित

आइसिसी टी-२० विश्वकपमा अष्ट्रेलियाकाे लगातार दोस्रो जित


काठमाण्डु – डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो। जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेकाे हाे।

अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए। आरोन फिन्चले ३७ रन बनाए। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए। त्यसअघि दुबई टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्कले समान २-२ विकेट लिए। सुपर- १२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलिया २ खेलमा समान ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।