काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई शुभकामनासहित बिदाइ गरेका छन् ।
उनले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरे ।
उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका आईजीपी कुँवरलाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्ने शुभकामना समेत दिए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चिनतता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्तपछि अझ बढी प्रगतिको लागि शुभकामना समेत दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको लामो यात्रा सम्पन्न गरी सोमबार बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरोन्नतिका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे ।
आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवं प्रहरी कर्मचारीहरूको हित र उत्प्रेणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया