अपराध स्वीकार्न हिरासतमै आईजीपीकै अघि धम्की दिएको खुलासा

अपराध स्वीकार्न हिरासतमै आईजीपीकै अघि धम्की दिएको खुलासा


काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तका बलात्कारी–हत्यारा सार्वजनिक गर्न माग गर्दै केही हप्ताअघि सडक आन्दोलन चर्किरहेको थियो । त्यति नै बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत राजनीतिक नेतृत्वबाट अपराधी पत्ता लगाउन दबाब बढिरहेको थियो । प्रहरी महानिरीक्षक खनालले जुक्ति निकाले १–२ जना पक्राउ गर्ने र नेतादेखि जनतासम्मलाई अल्झाउने ।

आईजीपी खनालको नक्कली जुक्तिको शिकार भए – कंचनपुरका प्रदीप रावल र विशाल चौधरी । प्रदीप रावललाई काठमाडौंबाट पक्राउ गरेपछि प्रहरीले कञ्चनपुरबाट विशाल चौधरीलाई पक्राउ गरेर काठमाडौं ल्यायो । आईजीपी खनाल स्वयं बयान लिन प्रत्यक्ष सक्रिय भए र दुवैले अपराध स्वीकारेको प्रचार गरियो । तर अन्ततः आईजीपी खनालको जुक्ति असफल भयो ।

निर्मला पन्तको हत्या प्रकरणमा फेरि पनि प्रहरी विवाद झेल्न बाध्य भएको छ । निर्मला हत्यामा संलग्न भनिएका प्रदीप रावल र विशाल चौधरीले प्रहरीले चरम यातना दिएका कारण आरोप स्वीकार्न बाध्य भएको खुलासा गरेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वंयले बयान लिएका दुई युवकले प्रहरीको यातना दिएको विषय बाहिर ल्याएका हुन् । प्रहरीको नेतृत्वमा रहेका आईजीपी सर्वेन्द्र खनालको हिरासतमा रहेका शंकास्पद व्यक्तिमाथि सम्मानजनक र कानूनी व्यवहार गर्नुपर्नेमा गुण्डाशैलीमा अपराध स्वीकार्न धम्की दिएको आरोप लागेको छ ।

काठमाडौंबाट नियन्त्रणमा लिइएका प्रदीप र कञ्चनपुरबाट पक्राउ परेका विशाललाई प्रहरीले आरोपित पक्राउ परिसकेको र छिट्टै सार्वजनिक गरिने बताएको थियो । हिरासतबाट छुटिसकेका उनीहरूले निर्मलालाई कहिल्यै नदेखेको र नसुनेको बताउंदै आफूहरूमाथि ठूलो अन्याय भएको बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मलाका हत्यारा पक्राउ परिसकेको र चांडै सार्वजनिक हुने बताएपनि अन्ततः उनको भनाई गलत सावित भएको छ ।

पक्राउ परेका प्रदीपले भनेका छन्, ‘तिमीहरूकै संलग्नता रहेको हामीले थाहा पाएका छौं । विशालले हामी दुई जनाले गरेको भनेको छ । हामी तिमीहरूकै मुखबाट आरोप स्वीकार गरेको हेर्न चाहन्छौं । अरुको नाम तिमीलाई नै थाहा होला भनेर अपराध स्वीकार्न लगाए ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा राखेर चरम यातना दिएको प्रदीपले बताएका छन् । राजेश गिरी र सुन्दर नेपाली नामका दुई प्रहरीले आफूलाई तर्साएर आरोप स्वीकार गर्न लगाएको उनको भनाई छ । उनले भने, ‘राजेश गिरीले कान निमोठ्यो, कपाल समाएर तान्यो । पाइपले खुट्टामा हान्यो । काठको लौरोले हानेर १५ चोटी सिलिङ छुन लगायो ।’

उनले आईजीपी खनालकै अगाडि जबर्जस्ती आरोप स्वीकार गर्न लगाएको बताए । उनले भने, ‘आईजीपी आएर मेरो अगाडि ढुंगा पनि बोल्छ भाइ भन्यो । मैले पनि खै सर, मैले गरेकै छैन सर भने । अनि किन अघि बयान दिएको त भनेर आईजीपीले सोधे । त्यो त मलाई बयान नस्वीकार्दासम्म यातना दिए, त्यसैले स्वीकारे भनेर मैले भने । त्यसपछि आईजीपीले भाई तिमीले धेरै पिटाइ खान्छौं, हामीलाई थाहा भइसकेको छ भनेर धम्की दिए ।’

विशालले पनि हिरासतभित्र दिएको यातनाबारे भने, ‘मैले मेरो डीएनए मिले ३० वर्षको जेल हालिदिनु भनें । पछि उनीहरूले तलाई प्रदीपले फसाइ रहेको छ, कति जना थियौ भनेर सोधे । त्यहां धेरै यातना दिए । आंखामा पट्टि लगाएका थिए । उनीहरूले मलाई पुलिस बनाइदिन्छु भने । त्यहँं धेरै कुटे । आरोप स्वीकार गर्न लगाए ।’

निर्मला पन्तको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख प्रमुख एसपी डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसीले निर्दाेष दिलिपसिंह विष्टलाई फसाउन धेरै कोसिस गरेका थिए । नक्कली प्रमाण बनाउन दिलिपलाई फसाउन खोजिएको सार्वजनिक भएपछि जनआक्रोश बढ्यो र दुवै प्रहरी अधिकृत उल्टै फसे ।

पछिल्लो समय प्रदीप र विशाललाई फसाउने प्रकरणमा समेत निर्दाेषलाई फसाउन निरन्तरता देखिएको थियो । यो निरन्तरतामा संलग्न देखिएका छन् आईजीपी सर्वेन्द्र खनाल । प्रदीप र विशाललाई फसाउन नसकिएपछि फेरि अरु कसैलाई फसाउन नयां खेल रच्ने हुन् कि भन्ने आशंका सर्वसाधारणमा देखिएको छ ।