आइजीपी खनाल कतारतिर, पुस्कर कार्की बने निमित्त आइजीपी

आइजीपी खनाल कतारतिर, पुस्कर कार्की बने निमित्त आइजीपी


काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल कतार प्रस्थान गरेका छन्।

कतारको दोहामा आयोजना हुने सुरक्षा समन्वयसम्बन्धी कार्यक्रममा सहभागी हुन खनाल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त कार्यक्रममा आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तीय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तीय अपराध तथा अन्य अन्तर्राष्ट्रिय अपराध नियन्त्रणसम्बन्धी कतार प्रहरीसँग दुई पक्षीय सम्झौता समेत हुने प्रधान कार्यालयले जनाएको छ। खनाल कार्तिक १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्झौता अन्तर्गत अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदान प्रदान गर्ने ती क्षेत्रमा भएका खोज अनुसन्धान तथा प्रकाशनको आदान प्रदान गर्ने, प्रहरी विज्ञ तथा विषशेज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरुको आदानप्रदान गर्ने एवम् उपलब्ध स्रोत साधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्ने लगायतका विषय रहेका छन् ।

खनालले देश बाहिर गएपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका छन्।