निर्मला हत्याकाण्ड: कञ्चनपुर पुगेर आइजीपी खनालले भने, ‘निर्दोष फस्दैन, दोषी उम्कँदैन’

निर्मला हत्याकाण्ड: कञ्चनपुर पुगेर आइजीपी खनालले भने, ‘निर्दोष फस्दैन, दोषी उम्कँदैन’


काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा
निर्दाेष नफस्ने र दोषी नउम्कने दाबी गरेका छन्।

घटनाको अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका आइजीपी खनालले आइतबार सो कुरा बताएका हुन्। पन्तको हत्यारा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याएरै छाड्ने उनको भनाइ छ।

आइजीपी खनालले बालिका पन्तको हत्याका सम्बन्धमा पनि उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको बताए। उनी आइतबार बिहान डिएसपी रुगम कुँवरसहितको टिम लिएर कञ्चनपुर पुगेका हुन्।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
खनालले समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले समाजसँगको समन्वय र सहकार्यमा काम गर्दै आएको बताए।

महिला हिंसा हत्या, बलात्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिइने उनले उल्लेख गरे।

अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नागरिक समाज, महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।