अध्यागमनमा सेटिङ गर्ने नेवानिका ३ कर्मचारी निलम्बित

अध्यागमनमा सेटिङ गर्ने नेवानिका ३ कर्मचारी निलम्बित


काठमाडौ– भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ । नेपाल एयरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्रकुमार पौडेलाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको छ । पौडलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कनेक्सनबारे समेत अनसन्धान भइरहेको छ ।

नेपाल एयरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको पुष्टि गरे । अध्यागमन अधिकृत पौडेलले एयरलाइन्सका कर्मचारीले सेटिङ गरेका ४ भारतीयको आवश्यक कागजात नहेरी प्रस्थान अनुमति दिएका थिए। दिनहुँझैं अध्यागमनमा सेटिङ हुने गरेको र त्यस्ता सेटिङ गुपचुप हुने गरेको स्रोतले बताएको खबर अाजकाे अन्नपूर्णपाेस्टमा छ  ।

पौडेलले केही दिनअघि मात्र पनि सेटिङ गरेर भारतीय महिलाहरूलाई हङकङ पठाएका थिए । हङकङले भारतीय नागरिकलाई अनअराइभल भिसा दिने गरेको र त्यसको फाइदा उठाउँदै भारतीय महिलाहरू कामका लागि नेपालको हवाई मार्ग हुँदै हङकङ जाने क्रम बढको छ । नेपालबाट कुनै पनि मुलुक जान भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिने भए पनि मानव तस्करहरूको सञ्जालले नेपालका एयरलाइन्स, प्रहरी र अध्यागमननमा सजिलै सेटिङ गर्न सक्ने भएकाले भारतीयहरू नेपाल हुँदै अवैध ढंगले हङकङ जाने क्रम बढेको छ ।

उनीहरूले अघिल्लो मंगलबार ‘नो अब्जेक्सन लेटर’ नभएका भारतीय नागरिकहरूलाई प्रस्थान अनुमति दिएका थिए। नेपाल एयरलाइन्स र अध्यागमनका कर्मचारीहरूले ‘नो अब्जेक्सन लेटर’ नभएका भारतीयहरूलाई आर्थिक सेटिङमा हङकङ उडाउने तयारी गरेका थिए ।
जम्मा १० जना भारतीयले फागुन १५ गतेका लागि सेटिङ मिलाएको तर उक्त कुरा चुहावट भएपछि २ जना विमान भित्रैबाट र अन्य २ जना अध्यागमनबाट पक्राउ परेका थिए ।

एक जना भारतीयलाई सेटिङ बिग्रिने बित्तिकै विमानस्थलबाटै भगाइएको थियो। प्रहरीले भारतीयलाई भगाएको आशंकामा केही कर्मचारीमाथिसमेत गोप्य निगरानी गरिरहेको छ । ‘अन्य छिरे वा फर्किए थाहा हुन सकेको छैन, एक जनालाई चाहिँ भगाएछन्, विमानस्थल स्रोतर्ले भन्यो, ‘सूचना चुहिएपछि तितरवितर भए । हामीले केही हङकङ पुगिसकको खबरसमेत पाएका छौँ।’

उनीहरूले स्थलमार्गबाट नेपाल आएका पाँच भारतीयलाई आर्थिक प्रलोभनमा अवैध ढंगले नेपाल एयरलाइन्सको विमानबाट हङकङ जाने बन्दोबस्ती मिलाएका थिए । स्रोतका अनुसार १० जना भारतीय उड्न लागको सूचना आए पनि प्रहरी र अध्यागमनका कर्मचारीहरूले ४ जनालाई मात्र पक्राउ गरेको थियो ।

उक्त सेटिङमा विमानस्थलमा कार्यरत केही प्रहरीको समेत संलग्नता रहेको भए पनि उनीहरूमाथि कुनै छानबिन भएको छैन । यो घटनाले नेपाल एयरलाइन्स र अध्यागमनका केही कर्मचारी मानव तस्करजस्तो जघन्य अपराधमा संलग्न हुँदै आएको पुष्टि गरेको छ ।
अवैध ढंगले भारतीयहरू उड्न लागेको सूचना पाएपछि प्रहरीले हङकङ उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा रोकेको थियो। ‘पुस ब्याक’ भइसकेकको जहाज रोकेर दुई भारतीयलाई विमान भित्रबाटै निकालेको हो ।