स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी

स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी


काठमाडौं – स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्ने तयारी गरेको छ। राउत असोज २१ गते रौतहटबाट पक्राउ परेका थिए ।

असोज २१ गते पक्राउ परेलगत्तै उनका आफ्न्तले जिल्ला अदालत रौंतहटमा रिहाईको लागी बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिट खारेज गर्दै अदालतले राउतलाई थुनामा राखी अनुसन्धान गर्न चार दिनको समय दिएको थियो।

यसअघि भने पटक-पटक पक्राउ परे पनि प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाड्न आदेश दिँदै आएको थियो। यसपटक भने राउत थुनामै रहेकाबेला प्रमाण जुटाएर राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न लागेको प्रहरी श्रोतले बतायो।

प्रहरीले प्रमाण जुटाउने सिलसिलामा राउतका विगतदेखिका गतिविधि खोतल्न थालेको छ। नयाँ मुलुकी ऐनमा व्यवस्था भएअनुसार राज्यविरुद्धको अपराधमा राउतलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ। । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ गरिएको थियो ।