काठमाडौं – भारतले अतिक्रमण गरेको नेपाली भूमिमा सरकारले नेपाली सुरक्षाकर्मी राख्ने तयारी गरेको छ ।
शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले कालापानीमा भारतीय सेनाको काउन्टरमा नेपाली सुरक्षाकर्मी राख्ने तयारी गरेको जानकारी दिए ।
‘भारतले जारी गरेको नयाँ नक्सामा १८ सय किलोमिटर नेपालको सीमा मानिन्छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई जिम्मा दिएको छ । ३७ हजार सशस्त्र प्रहरीको संख्या छ’, तथ्यांकसहित गृहमन्त्री बादलले भने, ‘सीमा सुरक्षा गर्न यो संख्या प्रर्याप्त देखिएको छैन । भारतले हरेक किमीमा सीमा सुरक्षा बल परिचालन गरेको छ । २५–३० किलोमिटरमा मात्र यो सुरक्षाकर्मी राख्न ठाउँ पुग्छ । अरु ६० ७० वटा नयाँ पोष्ट गर्ने तयारी छ ।’
गृहमन्त्री बादलले भारतले ४ सयभन्दा बढी स्क्वायर किमी अतिक्रमण गरेको दाबी गरे । उनले भारतले सन् १९६२ मा चीनसँग युद्धभएपछि भारतले नेपालको भूमि अतिक्रमण गरेको बताए । ‘भारतले आफ्नो सेना कालापानीमा राखे । सुरुमा १८ वटा सेनाको पोष्ट राखेकोमा कालापानीमा उनीहरुले हटाएनन्’, गृहमन्त्री बादलले भने ।
गृहमन्त्री बादलले भारतले आफ्नो नक्सामा नेपालको भूमीलाई समावेश गरेको दाबी गरेका छन् । ‘हामीले आफ्नो भूमीलाई फिर्ता लिन हामी सफल हुन सकेका छैनौँ’, उनले भने, ‘आफ्नो भूमी फिर्ता लिन अनुकूल वातावरण भएको र सरकारले पहल भैरहेको छ । ’
गृहमन्त्री बादलले सीमा नजिक नेपालले सशस्त्र प्रहरी बल राख्न नसकिएको स्वीकार गरे । ‘उनीहरुले सीमा सुरक्षा बल मात्र हैन, गोर्खा बटालियन सेना पनि राखेका छन् । चार पाँच हजारको संख्यामा सुरक्षाकर्मी राखेका छन्’, उनले भने, ‘ त्यसको काउन्टरमा हामीले हाम्रा सुरक्षकर्मीलाई विन्यास गरेका छौ । त्यहाँ जान भारतबाट जानुपर्ने भएकोले हामीले सबैभन्दा अगाडि बाटो बनाउनुपर्ने छ ।’
प्रतिक्रिया