भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने

भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने


नयाँ दिल्ली – भारत २०२६ मा जर्मनीलाई पछि पार्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने देखिएको छ । यूकेस्थित सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) को नयाँ रिपोर्टमा यस्तो देखिएको होे । भारत २०३४ मा जापानलाई पनि पछि पार्दै विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

सीईबीआरका अनुसार भारतको जीडीपी २०२६ सम्ममा ५ ट्रिलियन डलर पुग्ने छ । यद्यपि मोदी सरकारले यसका लागि २०२४ को समय निर्धा्रित गरेको छ । भारतले २०१९ मा फ्रान्स र युकेलाई पछि पार्दै विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुक बनेको थियो ।

‘वल्र्ड इकोनोमिक लीग टेबल २०२०’ शीर्षका रिपोर्टमा भनिएको छ,“भारत २०१९ मा फ्रान्स र संयुक्त अधिराज्यलाई पछि पार्दै पाँचौ ठूलो अर्थव्यवस्थाको मुलुक भएको थियो ।” यो संस्थाका अनुसार आगामी १५ वर्षसम्ममा भारतको जापान र जर्मनीसँग तेस्रो ठूलो अर्थव्यवस्था बन्नका लागि लडाइ हुनेछ । यद्यपि अर्थतन्त्रको हालको अवस्था देख्दा यो लक्ष्य हासिल गर्न सम्भव देखिदैैन ।

हालैमात्र रिजर्भ बैंकका पूर्व गभर्नर सी रंगराजनले भनेका छन्,“विद्यमान विकास दरको हिसाबले भारत २०२४–२५ मा ५ ट्रिलियन डलरको अर्थव्यवस्था बन्ने कुरा मलाई लाग्दैन ।”