स्वतन्त्रता दिवसका अवसरमा भारतले दियो नेपाललाई ३० एम्बुलेन्स र ६ बस

स्वतन्त्रता दिवसका अवसरमा भारतले दियो नेपाललाई ३० एम्बुलेन्स र ६ बस


काठमाडौं – भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा बस उपहार दिएको छ । नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

लैनचौरस्थित दूतावासमा बुधबार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका हुन् ।

समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो ।

समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए ।राजदूत पुरीले नेपाली र भारतीय जनताबीचको सम्बन्ध निकै प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्व समृद्धिका आफूहरुले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।

समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो ।भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर भारतले यसअघि नै विभिन्न सामाजिक संघसंस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १३६ वटा बस उपलब्ध गराइसकेको छ ।