ऊर्जा सहकार्यमा अभूतपूर्व अवसर छ, नेपालले १००० मेगावाट विद्युत् निर्यात गर्न सक्छ : भारत

ऊर्जा सहकार्यमा अभूतपूर्व अवसर छ, नेपालले १००० मेगावाट विद्युत् निर्यात गर्न सक्छ : भारत


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको दिल्ली भ्रमणका क्रममा भारतले दुई देशबीच ऊर्जा क्षेत्रको सहकार्यमा अभूतपूर्व अवसर रहेको स्मरण गर्दै नेपालले १००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने जनाएको छ ।

सोमबार मन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेपछि विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले दुवै पक्षले ऊर्जा क्षेत्रको पारस्परिक लाभकारी साझेदारीमा भएको प्रगतिबारे छलफल गरेको जनाएको छ ।

भारतले भनेको छ, ‘नेपालले अब १००० मेगावाट बिजुली निर्यात गर्न सक्छ, जसले नेपालका लागि राजस्वको अतिरिक्त स्रोत र भारतका लागि स्वच्छ ऊर्जा सिर्जना गर्दछ ।’ दुवै परराष्ट्रमन्त्रीहरूले ऊर्जा क्षेत्रको सहकार्यमा अभूतपूर्व अवसरहरू रहेको उल्लेख गरेका जनाइएको छ ।

भारतीय विदेशमन्त्री डा. जयशंकरको निमन्त्रणामा नेपालका परराष्ट्रमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा छिन् ।

सोमबार परराष्ट्रमन्त्रीद्वयले गरेको द्विपक्षीय वार्तामा विभिन्न द्विपक्षीय सहकार्य र विकास परियोजनामा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक सहयोगका विद्यमान र नयाँ अवसरहरूबारे छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

भारतले भनेको छ, ‘भारत र नेपाल गहिरो ऐतिहासिक, सभ्यता, सांस्कृतिक र जनताबीचको सम्बन्ध भएका घनिष्ठ र मित्रवत छिमेकी हुन् । नेपालमा हालैका वर्षहरूमा भारतको सहयोगमा सञ्चालित परियोजनाहरू कार्यान्वयनमा निरन्तर गति आएको छ ।’ भारतको सहयोगमा भौतिक, डिजिटल र पहुँच, पूर्वाधार, सीमा रेलमार्ग, सडक र पुल, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन लगायत परियोजना सञ्चालनमा रहेका जनाइएको छ ।

नेपाल र भारतबीचको सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद क्षेत्र उदाइरहेको उल्लेख गर्दै भारतले राष्ट्रिय क्रिकेट एकेडेमी र नेपाली क्रिकेट टोलीका लागि बेंगलुरुमा तालिम प्रदान गर्ने सुविधालाई पनि स्वागत गरेको छ ।