भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण


तनहुँ – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ ।

भारतीय दूतावासको २ करोड ७३ लाखको लागतमा भवन निर्माण गरिएको हो ।

भवनको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रूपमा उद्घाटन गरे ।

क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप २२ लाख रुपैयाँ सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिए ।

विक्रम संवत् २०६९ फागुनमा निर्माण सुरु भएको भवन २०७२ सालमा निर्माण सम्पन्न भएको छ । दुईतले २४ कोठा भएको भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए । क्याम्पसमा ३०७ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा रहेको उनले बताए । क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन् ।

भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताए । गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गरेका छन् ।