काठमाण्डु-भारतविरुद्ध पाँचौं टेस्टमा जित निकाल्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।
पाँचौं टेस्टमा भारतसँगको श्रृंखला ३–१ ले जितेपछि अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा पुगेको हो । अष्ट्रलिया फाइनलमा लगातार दोस्रोपटक पुगेको हो ।
भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३–१ ले कब्जा गरेको छ ।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए । यस्तै उसमान ख्वाजाले ४१ रन बनाए ।
त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भएको थियो । रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए ।
अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०–विकेट फिगर पनि हासिल गरे ।
भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो । जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।
पहिलो टेस्टमा भारत विजयी भएको थियो भने दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो । तेस्रो टेस्ट ड्र भएको थियो ।
टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ । दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ ।
वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३–२५ को फाइनल इंग्ल्याण्डको लड्र्समा आगामी जुन महिनामा हुँदै छ । सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक–एकपल्ट जितेका छन् ।
प्रतिक्रिया