भारत र बंगलादेशबीच फेरि बढ्यो तनाव

भारत र बंगलादेशबीच फेरि बढ्यो तनाव


काठमाण्डु-बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत पछि भारतसँग बढेको तनाव अझै साम्य भएको छैन । अहिले दुई देशबीच फेरि तनाव बढेको छ । अहिलेको तनाव बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको दुव्र्यवहारमा भारतले जनाइरहेको आपत्तिसँग जोडिएको छ ।

बंगलादेशको अन्तरिम सरकारका मुख्य सलाहकार मोहम्मद युनूस हिन्दुहरूमाथि भइरहेको आक्रमणलाई प्रोपगण्डा भन्छन् ।शुक्रवार भारतको विदेश मन्त्रालयले बंगलादेशी सरकारलाई त्यहाँको अल्पसंख्यहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । भारतको संकेत बंगलादेशी हिन्दूहरूमाथि थियो ।

हिन्दूहरूमाथि भइरहेको ज्यादतीलाई ‘मिडियाको अतिशयोक्ति’ बताएर खारेज गर्न नसकिने भारतको भनाइ छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भनेका छन्, ‘यस मामिलामा भारत स्पष्ट छ की बंगलादेशको सरकारले सबै अल्पसंख्यकहरूको सुरक्षा दिनुपर्छ ।’

बंगलादेशको चटगाउँमा रहेको इस्कन मन्दिरका चिन्मय कृष्ण दासको पक्राउप्रति पनि भारतले आपत्ति जनाएको छ ।भारतको प्रतिक्रियाप्रति बंगलादेशको विदेश मन्त्रालयले पनि जवाफी प्रतिक्रिया दिएको छ ।

बांग्लादेशले कोलकोतामा आफ्नो उप–उच्चायोग अगाडि राष्ट्र ध्वज र मोहम्मद युनूसको पुतला जलाइएकोप्रति कडा विरोध गरेको छ ।

‘भारतले यो सुनिश्चित गरोस् कि निकट भविष्यमा फेरि यस्तो घटना नदोहोरियास्’, बंगलादेशको विदेश मन्त्रालयले भनेको छ । चिन्मय कृष्णको गिरफ्तारीको भारतमा व्यापक विरोध भइरहेको छ । यस मामिलामा दुवै देश अहिले आमने सामने भएका छन् ।

सत्ताबाट हसिनाको बहिर्गमनपछि भारत र बंगलादेशको सम्बन्धमा अविश्वास पनि बढेको छ । बंगलादेशको १७ करोड जनसंख्यामा हिन्दू आठ प्रतिशत छन् । यस वर्ष अगस्तमा हसिनाको सत्ता ढलेपछि बंगलादेशमा हिन्दुहरूमाथि बारम्बरा आक्रमण भइरहेको समाचार आइरहेको छ ।

भारतले मंगलवार पनि हिन्दुहरूको सुरक्षाप्रति चिन्ता जनाउँदै बयान जारी गरेको थियो । यसको जबाबमा बंगलादेशको विदेश मन्त्रालयले यो उसको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।

चिन्मय कृष्ण दास पक्राउको विषयमा भारतले चिन्ता जनाए पनि उनीविरुद्ध पर्याप्त प्रमाणहरू फेला परेको छ । बंगलादेशी अंग्रेजी पत्रिका ढाका ट्रिब्युनका अनुसार बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिटले इन्टरनेशनल सोसाइटी फोर कृष्ण कान्सियसनेस अर्थात इस्कानसँग सम्बन्धित चिन्मय कृष्ण दाससहित ११७ जनाको बैंक खाता ३० दिनका लागि रोक्का गरेको छ ।

बंगलादेशमा हिन्दुको सुरक्षाको विषयमा भारतको बयानप्रति त्यहाँको सरकारले मात्र होइन बंगलादेशी मिडियाहरूमा पनि भारतप्रति तीखो टिप्पणी भइरहेको छ ।

ढाका ट्रिब्युनले चिन्मय कृष्ण दास पक्राउप्रति भारतीय प्रतिक्रियाको जवाफमा सम्पादकीय नै लेखेको छ । पत्रिकाले भनेको, ‘जुन भारतले बंगलादेशको स्वतन्त्रतामा अहम भूमिका निर्वाह गरेको थियो आज त्यहि भारत हालका दिनमा गलत सूचनालाई मलजल गरिरहेको छ ।’ पत्रिकाले पनि चिन्मय कृष्ण दासको गिरफ्तारी बंगलादेशको आन्तरिक मामिला भएको लेखेको छ । उसले भारतले देखाउने चिन्ता देखाबटी भएको टिप्पणी गरेको छ ।

भारतका चर्चित पत्रकार करण थापर ले ‘द वायर’मा ढाका ट्रिब्युनका सम्पादक जफर सोभानलाई प्रश्न गरेका छन । भारतीय पत्रिका द हिन्दूकी कुटनीतिक मामिलाका सम्पादक सुहासिनी हैदरले केही महिना अघि बंगलादेशका अन्तरिम सरकारका मुख्य सलाहकार यूनुसलाई सोधेका थिए, ‘बंगलादेशका अल्पसंख्यहरू किन त्रसित छन्?’