काठमाण्डु-गत वर्ष क्यानडामा एक सिख पृथकतावादीको हत्या भारत सरकारका एक वरिष्ठ अधिकारी र देशको जासुसी एजेन्सीको निर्देशनमा भएको अमेरिकी अखबार द वाशिङटन पोष्टले उल्लेख गरेको छ ।
क्यानडाली अधिकारीहरूलाई उद्धृत गर्दै द वाशिङटन पोष्टको अनलाइन संस्करणमा भारतका उच्चतहका अधिकारीहरू क्यानडामा सिख पृथकतावादीको हत्यामा संलग्न रहेको दाबी गरिएको छ ।
क्यानडाली अधिकारीको भनाइलाई आधार मान्दै भारतीय गृहमन्त्री अमित शाहले क्यानडा भित्र सिख पृथकतावादीहरूलाई लक्षित गरी हिंसा, धम्की र गुप्तचर भेलाको अभियानको आदेश दिएको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने गृहमन्त्री शाहको प्रत्यक्ष निर्देशनमा क्यानडाको भूमिभित्र हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि भएको आरोप क्यानेडियन सरकारले लगाएको द वासिङटन पोस्टले लेखेको छ ।
क्यानडाका उप–विदेशमन्त्री डेभिड मोरिसनले मंगलबार एक संसदीय प्यालनमा बोल्दै ती अधिकारी आफू भएको बताएका छन् । यद्यपी त्यसबारे केही प्रमाण वा विस्तृत विवरण उनले सार्वजनिक गरेका छैनन् ।
गत वर्ष जुनमा पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्याका कारण भारत–क्यानडा सम्बन्धमा तनाव रहँदै आएको छ ।
निज्जर हत्यामा भारत संलग्न भएको आरोप क्यानडाकोे छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जर हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण सुरक्षा संस्थासँग भएको दाबी गरेका छन् ।
निज्जर हत्यामा भारतीय संलग्न रहेको प्रमाण भेटिए पनि भारतले अनुसन्धानमा नसघाएको आरोप पनि क्यानडाले लगाएको छ ।
क्यानडाली शिखविरूद्धका गतिविधिमा संलग्नताको आरोप लगाउँदै यस वर्ष अक्टोबरमा छ जना भारतीय कूटनीतिज्ञलाई क्यानडाले निष्कासन गरेको थियो । जबाफमा भारतले पनि क्यानडाका छ कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।
यसै वर्ष अक्टोबर १२ मा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र क्यानडाली सुरक्षा अधिकारीबीच सिंगापुरमा गोप्य भेट भएको थियो । उक्त भेटमा क्यानडाले आपराधिक गतिविधिमा भारतको संलग्नताको प्रमाण समेत पेस गरेको पनि द वासिङटन पोस्टले लेखेको छ ।
समाचारअनुसार क्यानडामा रहेका सञ्जयकुमार वर्मासहित भारतीय कूटनीतिज्ञले क्यानेडियन शिखविरूद्ध जासुसी गर्थे । उनीहरूले जासुसी गरेर गोप्य सूचना भारतीय गृहमन्त्री शाह र गुप्तचर संस्था ‘रअ’ का वरिष्ठ अधिकारीलाई पठाउँथे ।
भारतीय कूटनीतिज्ञहरूबीचको संवाद र सन्देशका आधारमा उनीहरूले शाहसँग अनुमति लिँदै आएको खुलेको क्यानडाको दाबीलाई उद्दृत गर्दै समाचारमा जनाइएको छ ।
त्यसरी प्राप्त सूचनाका आधारमा ‘रअ’ले क्यानडाली नागरिक लरेन्स बिस्नोईका गिरोहलाई हमलाका लागि खटाउने गरेको पनि वासिङटन पोस्टले जनाएको छ ।
बिस्नोई अहिले भारतको गुजरात जेलमा छन् । गुजरात मोदी र शाह दुवैको गृह जिल्ला हो । बिस्नोईले त्यहीँबाट आफ्नो आपराधिक गिरोह चलाइरहेको मानिन्छ । उनको गिरोहले विजया दशमीको साँझ महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या गरेको थियो । उनले भारतीय अभिनेता सलमान खानको हत्या गर्ने धम्कीसमेत दिइरहेका छन् । बाबा सिद्दिकीको सलमान खान, शाहरूख खान लगायत बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ ।
आफ्ना पत्र र सन्देशको अन्त्यमा जय श्रीराम लेख्ने बिस्नोईलाई मोदीको हिन्दुवादी सरकारले परिचालन गरिरहेको आशंका छ ।
सिख हत्यामा भारतको संलग्नालाई भारतीय अधिकारीहरूले अस्वीकार गर्दै आएका छन् र आरोपहरूलाई बेतुका भनेका छन् । ओटावामा रहेको भारतीय दूतावासले गृहमन्त्री शाह विरुद्धको दाबीलाई पनि खण्डन गरेको छ ।
क्यानडा एक मात्र देश होइन जसले भारतीय अधिकारीहरूलाई विदेशी भूमिमा हत्याको योजना बनाएको आरोप लगाएको छ । अमेरिकाको न्याय विभागले पनि न्यूयोर्कमा बस्ने एक सिख पृथकतावादी नेतालाई मार्ने कथित असफल षड्यन्त्रको सम्बन्धमा एक भारतीय सरकारी कर्मचारी विरुद्ध अक्टोबरको मध्यमा आपराधिक आरोपको घोषणा गरेको थियो ।
प्रतिक्रिया