काठमाण्डु-भारत र चीनका सैनिकहरूबीच हिमाली सीमाक्षेत्रमा घातक भिडन्त भएको चार वर्षपछि दुई देशका नेताहरूले यसै हप्ता बुधवार औपचारिक भेटघाट गरेका छन् ।
रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनको छेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङबीच यो साता छुट्टै वार्ता भएको छ । यसअघि केही दिनअघि दुवै पक्षले सीमावर्ती क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न एउटा सहमति भएको घोषणा गरेका थिए ।
मोदी र सीले उक्त कदमको स्वागत गर्दै दुई देशबीच फेरि संवाद थाल्ने वचनबद्धता प्रकट गरे ।
मोदी र सी भारत–चीन सीमा विवाद समाधान गर्ने उद्देश्यले दुई देशका शीर्ष अधिकारीहरूबीच चाँडै मिति तोक्न सहमत भएका छन् ।
ब्रिक्स राष्ट्रहरू ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेताहरू यो साता रुसको कजानमा भेला भएका हुन् । भारत र चीन सम्बन्ध विभिन्न तनावका कारण दशकौँदेखि प्रभावित हुँदै आएको छ ।
त्यसको मुख्य कारण ३,४४० किलोमिटर लामो अस्पष्ट र विवादास्पद सीमा हो । नदी, ताल र हिउँ पर्ने क्षेत्र भएकाले सीमा जनाउने आधार प्रायः फेरिन्छ । त्यसका कारण दुई देशका सैनिकहरू बारम्बार आमुन्नेसामुन्ने पर्छन् र सङ्घर्ष हुने अवस्था उत्पन्न हुन्छ ।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारतले ठूलो पराजय बेहोर्नुपरेको थियो । त्यसयता दुई पक्षबीच पटकटक सङ्घर्ष भएको छ ।
भारतले सन् २०१९ मा संविधानको धारा ३७० खारेज गर्दै भारत–प्रशासित कश्मीरलाई दिइएको स्वायत्तताको अधिकार खोसेपछि चीनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उक्त कदमको विरोध गरेको थियो । कश्मीरमा उच्च हिमाली क्षेत्रमा पर्ने लद्दाख अवस्थित छ । चीनले लद्दाखका केही भागमा आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको छ ।
सन् २०२० मा दुई देशका सैनिकहरूबीच गल्वान उपत्यकामा भिडन्त हुँदा कम्ती २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको मृत्यु भयो । त्यसको केही महिनापछि दुवै देशले तनाव मत्थर पार्ने उद्देश्यले विभिन्न सीमावर्ती स्थानबाट आफ्ना फौज पछि सारे । तर अवस्था तनावपूर्ण नै रह्यो ।
सन् २०२१ मा उत्तरी सिक्किममा र सन् २०२२ मा सीमाको तनाङ खण्डमा पुनः भिडन्त भयो । सैन्य तनावका कारण दुई देशबीचको व्यापारिक सम्बन्ध पनि प्रभावित भयो । दिल्लीले भारतमा हुने चिनियाँ लगानीमा कडाइ गर्यो र टिकटकसहित चिनियाँ स्वामित्वमा रहेका विभिन्न मोबाइल एपलाई प्रतिबन्ध लगादियो । भारतले चीनसँग हुने सीधा यात्रुवाहक उडान पनि बन्द गरिदियो ।
समस्या समाधानका सूत्र
सन् २०१९ पछि मोदी र सीबीच अहिले पहिलो पटक औपचारिक वार्ता भएको हो । यद्यपि सन् २०२२ मा जी२० शिखर सम्मेलनका बेला इन्डोनेशियाको बालीमा उनीहरूको भेट भएको थियो । त्यसको धेरै महिनापछि चीनले उक्त बैठकमा द्विपक्षीय सम्बन्ध सुधार गर्न दुवै पक्ष एकमत भएको बताएको थियो ।
सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनका बेला पनि दुई जनाबीच अनौपचारिक भेट भएको थियो । त्यसमा उनीहरूले तनाव घटाउने प्रयासहरूलाई सघन बनाउन सहमति गरेको थियो ।
शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन काजकस्तान गएका बेला सोही वर्ष भारतका विदेशमन्त्री एस जयशङ्कर र उनका चिनियाँ समकक्षी वाङ यीबीच भेट भएको थियो । उनीहरूले संवाद बढाउने सहमति गरेका थिए ।
गत महिना जयशङ्करले सीमामा ७५ प्रतिशत विवाद समाधान भएको बताएका थिए । त्यसको केही दिनपछि दुई देशका नागरिक उड्डयन अधिकारीहरूको बैठकमा यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
दुई देशले सीमामा फेरि गस्ती थाल्ने र सन् २०२० को भिडन्तअघिको स्थिति कायम गर्ने सहमति गरेको सोमवार जयशङ्करले बताएका छन् । यस्तै भारतीय सेनाका प्रमुख जेनरल उपेन्द्र द्विवेदीले अहिले दुई देश विश्वास पुनः कायम गर्ने प्रयासमा रहेको बताएका छन् ।
चीनको विदेश मन्त्रालयले उक्त सहमतिको विषयवस्तुबारे कुनै टिप्पणी नगरी दुई पक्षबीच सम्बन्धित विषयमा समाधानमा पुगिएको बताएको छ ।
‘चीन यो प्रगतिलाई स्वागत गर्छ र यी सहमतिहरू कार्यान्वयन गर्न भारतसँग निरन्तर सहकार्य गर्ने छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलवार एउटा पत्रकार सम्मेलनमा भने ।
अब के हुन्छ?
भारतको विदेश मन्त्रालयका अनुसार मोदी र सीले आफ्ना विशेष प्रतिनिधिहरूले सीमाबारे उचित र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्न भेट गर्ने घोषणा गरेका छन्।
द्विपक्षीय सम्बन्धलाई स्थिर र पुनः राम्रो बनाउन दुई देशका मन्त्री र अन्य अधिकारीहरूले काम गर्ने पनि विदेश मन्त्रालयले जनाएको छ। मोदीले दुई देशबीचको सम्बन्ध विश्वशान्तिका लागि महत्त्वपूर्ण भएको भन्दै आफूहरूले राम्रो सम्बन्ध कायम गर्नुको महत्वबारे छलफल गरेको बताए ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले मोदीलाई अन्तर्राष्ट्रिय समुदायले सो भेटलाई नजिकैबाट नियालेको बताएका छन् । उनले दिल्ली र बेइजिङले विकासशील राष्ट्रबीचको एकतालाई सुदृढ पार्न तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीकरण र प्रजातन्त्रलाई प्रोत्साहन दिन उदाहरण बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘चीन र भारत दुवै प्राचीन सभ्यता हुन्, मुख्य विकासशील राष्ट्र र ग्लोबल साउथका महत्वपूर्ण सदस्य हुन्,’ उनले भने, ‘हामी दुवै आधुनिकीकरण गर्ने आफ्ना प्रयासमा एउटा महत्त्वपूर्ण चरणमा छौँ ।’
ब्रिक्स सम्मेलनमा ३६ देशका नेताहरू सहभागी भएका थिए । तिनले ग्लोबल साउथका राष्ट्रहरूबीच हुने वाणिज्यमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने उपायबारे पनि छलफल गरेका थिए । उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि सहभागी भएका थिए । बीबीसीको रिपोर्टमा आधारित
प्रतिक्रिया