काठमाण्डु-भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनसक्ने मतदान सम्पन्न भएपछिका प्रारम्भिक मत सर्वेक्षण अर्थात एक्जिट पोलहरूले देखाएका छन् ।
विश्लेषकहरूले भने विभिन्न समाचार संस्थाहरूले गर्ने एक्जिट पोल विगतमा प्रायः गलत र निष्पक्ष नभएको पाइएको बताउँदै आएका छन् । यद्यपि तिनका सर्वेक्षणले आमनिर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) अगाडी रहेको देखाएको छ र यसको संकेत अरुणाञ्चल प्रदेशको नतिजाबाट देखिएको छ ।
अरुणाञ्चल प्रदेशमा भएको ६० सदस्यीय विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले ४६ स्थानमा विजयी भएर एकछत्र बहुमत ल्याएको छ ।
मंगलबार भारतीय लोकसभा निर्वाचनको नतिजा सार्वजनिक हुनेछ । तर त्यसपूर्व अरुणाञ्चल र सिक्किम विधानसभाको नतिजा आइतबार नै सार्वजनिक गरिएको थियो ।
भारतको तल्लो संसद लोकसभामा कुनै एक दल वा गठबन्धनलाई सरकार बनाउनका लागि २७२ सीट आवश्यक पर्छ । भाजपा नेतृत्वको गठबन्धन नेसनल डेमोक्याट्रिक एलायन्स (एनडिए)ले उक्त बहुमत सीट पुर्याउने एक्जिट पोलहरूले जनाएका छन् । पोलहरूमा एनडिएले सदनमा झण्डै दुई तिहाई सीट पुर्याउने प्रक्षेपण गरेका छन् ।
मतदान सकिएपछिको आफ्नो पहिलो प्रतिक्रियामा मोदीले एक्जिट पोलहरूको उल्लेखबिनै जित दाबी गरेका थिए । आफ्नो दाबीको आधार प्रस्तुत नगरिकन उनले एक्समा लेखेका थिए–‘म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडिए सरकारलाई पुनर्निर्वाचित गर्ने कीर्तिमानी संख्यामा मतदान गरेका छन् ।’
विपक्षीले भारतमा निकै अविश्वसनीय हुने एक्जिट पोलका नतिजालाई खारेज गर्दै भाजपा सरकारले प्रतिद्वन्द्वीहरूलाई मौन बनाएको र उनीहरूलाई समान प्रतिष्पर्धाको मौका दिन अस्वीकार गरेको आरोप लगाएको छ ।
छ वटा एक्जिट पोलहरूको औसत हेर्दा भाजपा नेतृत्वको एनडिएले ठूलो जित हासिल गर्ने देखिएको छ । तर त्यस्ता सर्वेक्षणहरू सधै भरपर्दा हुँदैनन् । उनीहरूका छुट्टाछुट्टै प्रक्षेपण भिन्नभिन्न भए तापनि एनडिएले ३५५ देखि ३८० बीचमा सीट जित्ने अनुमान गरिएको छ ।
विपक्षीहरूको इन्डियन नेसनल डेभलमेन्टल इन्क्लुसिभ एलायन्स (इन्डिया) गठबन्धनले १२५ देखि १६५ सीट बीचमा नतिजा ल्याउने ठानिएको छ ।
आफ्नै आकलनमा भने भाजपाले झण्डै ३२७ सीट जित्न सक्छ जुन यसअघि उसले राखेको लक्ष्य ३७० भन्दा कम हो । सन् २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जितेको थियो भने भाजपाले बनाएको गठबन्धन एनडिएमा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए ।
अरुणाञ्चलमा ठूलो जित, सिक्किममा नराम्ररी हार
भारतका दुई पूर्वोत्तर राज्यहरू अरुणाञ्चल प्रदेश र सिक्किममा भएको विधानसभा निर्वाचनको मतपरिणाम आइसकेको छ । अरुणाञ्चल प्रदेशमा बीजेपीले बहुमत ल्याएको छ भने सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को एकछत्र विजयी भएको छ । सिक्किममा भाजपा नराम्ररी पराजय भोगेका छन् ।
३२ सदस्यीय सिक्किम विधानसभामा एसकेएमले ३१ सीटमा जितेको छ । अरुणाञ्चल प्रदेशको ६० सदस्यीय विधानसभामा भाजपाले ४६, नेशनल पीपल्स पार्टी (एनपीईपी) ले ५, नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) ले ३, पीपल्स पार्टी आफ अरुणाचल (पीपीए)ले २ र कांग्रेसले मात्र एक स्थानमा जितेका छन् । तीन सीटमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
अरुणाञ्चलमा भाजपाको जितले एक्जिट पोलका सर्वेक्षण सत्य सवित भइरहेको विश्लेषकहरूको अनुमान छ । तर विपक्षीहरू भने एक्जिट पोलका सर्वेक्षणलाइै खारेज गरेका छन् ।
अरुणाञ्चलमा भाजपाको जितबाट उसले आफ्नो उपस्थिती दर्ज मात्रै गराएको छैन, विधानसभाको निर्वाचन भएका अन्य राज्यमा पनि रामै्र स्थान ल्याउने प्रारम्भिक संकेत पनि दिएको छ । यसका साथै लोकसभामा पनि बहुमत आउने संकेत अरुणाञ्चलको नतिजाले देखाएको विश्लेषकहरूको आकलन छ ।
रोचक के छ भने अरुणाञ्चलको विधानसभाको दस सीटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । अरुणाञ्चल प्रदेशमा भाजपा मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा निर्वाचन लडेको हो । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।
यता सिक्किम विधानसभाको निर्वाचनको मत परिणाम पनि रोचक छ । यहां सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ३२ मध्ये ३१ सीटमा जितेका छन् । विपक्षमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) मात्र एक सीटमा चित बुझाउनु परेको छ भने भाजपाले कुनै सीटमा विजय हुन सकेन ।
सिक्किम डेमोक्रेटिक फ्रन्टका प्रमुख र प्रदेशका पूर्वमुख्यमंत्री पवन चामलिङ नामचेबुंग र पोकलोक कामरांगको दुवै सीटमा पराजित भएका छन् । चामलिङ १९९४ देखि २०१९ सम्म सिक्किमका मुख्यमन्त्री थिए । भारतका स्टार फुटबल खिलाड़ी बाइचुङ भुटिया पनि पराजित भएका छन् ।
सिक्किमा भाजपाको हारले विपक्षीलाई केही राहत मिलेको छ भने एक्जिट पोलका सर्वेक्षण सधै सत्य नहुने तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया