कश्मीरमा भएको आक्रमणको नेपालले गर्‍यो निन्दा

कश्मीरमा भएको आक्रमणको नेपालले गर्‍यो निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालले जम्मू कश्मीरको पाहलगाममा भएको आक्रमणको कडा निन्दा गरेको छ । कश्मीरमा एक नेपालीसहित २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलालाई बर्बर भन्दै नेपालले कडा निन्दा गरेको छ।

मंगलबार भएको यो हमलामा १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। हमलाको आक्रमणको जिम्मेवारी द रेसिस्टेन्स फ्रन्टले लिएको छ। यो हमला सन् २०१९ को पुलवामा हमलापछिको सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

‘जम्मू कश्मीरको पाहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्ट रूपमा निन्दा गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

नेपालले भारत सरकार र जनतासँग यस दुःखको घडीमा दृढ ऐक्यबद्धता जनाएको छ। नेपालले आफ्नो सैद्धान्तिक अडानअनुरूप सबै प्रकारका आतंकवादको निन्दा गरेको र यस्ता जघन्य कार्यलाई कुनै पनि आधारमा उचित ठहराउन नसकिने स्पष्ट पारेको छ। ‘हाम्रो दृढ र सैद्धान्तिक अडान अनुरूप, नेपालले सबै प्रकारका आतंकवादको निन्दा गर्दछ र विश्वास गर्छ कि आतंकवादका यस्ता जघन्य कार्यहरूलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन’, मन्त्रालयले भनेको छ ।

यो हमलालाई लिएर अमेरिका, बेलायतसहित विश्वभरका नेताहरूले समेत निन्दा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण छोट्याएर दिल्ली फर्किएका छन्।

हमलापछि पाहलगाम वरपर ५ किलोमिटर क्षेत्रमा सुरक्षा बलहरूले खोजी अभियान तीव्र पारेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।