भारतको कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २८को मृत्यु

भारतको कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित २८को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार आतंकवादीहरूले पर्यटकमाथि आक्रमण गरेको छ ।

आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ । सामाजिक सञ्जालमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको उल्लेख छ, तर आधिकारिक पुष्टि बाँकी छ ।

कश्मीरको बैसरानमा घटना भएको हो, जहाँ आतंककारीले पर्यटक, स्थानीय र व्यवसायमा संलग्न व्यक्तिमाथि गोली चलाएका थिए । घटनामा मारिने भध्ये २२ भारतीय पर्यटक, दुई स्थानीय, एक नेपाली र एक युएई नागरिक छन् । ३६ जना घाइते छन् ।

आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लश्कर–ए–तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ ।

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए ।

सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले दोषीलाई कारबाही र आतंकवादविरुद्ध कडा कदम चाल्ने बताए । गृहमन्त्री अमित शाहले श्रीनगर पुगेर सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेका छन् ।