भारतको मणिपुरमा कर्फयु, इन्टरनेट सेवा पनि बन्द

भारतको मणिपुरमा कर्फयु, इन्टरनेट सेवा पनि बन्द


काठमाण्डु-भारतको मणिपुर तथा आसमको सीमानजिक रहेको जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ ।

मणिपुरमा शनिबार भीडले इम्फाल उपत्यकाका केही विधायक तथा मन्त्रीको घरमा आक्रमण गरेको थियो । उक्त भीडले थुप्रै गाडीमा आगजनीसमेत गरेको थियो ।

प्रदर्शनकारीहरूले शनिबार तीन मन्त्री तथा ६ विधायकको घरमा आक्रमण गरेका थिए । त्यसपछि राज्य सरकारले पाँच जिल्लामा कर्फयु लगाएको छ । केही क्षेत्रमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मणिपुरमा ६ जनाको शव भेटिएपछि हिंसा भड्किएको हो । सोमबारदेखि बेपत्ता भएका दुई महिला तथा एक बच्चाको शव शनिबार भेटिएको थियो । त्यस्तै अन्य तीन जना (एक महिला तथा दुई बालबालिका) को शव भने शुक्रबार राति फेला परेको थियो ।

इम्फालका प्रहरी अधिकारी मेघचन्द्रालाई उद्धृत गर्दै बीबीसीले सो क्षेत्रमा भीडले हिंसा भड्काएको उल्लेख गरेको छ । ती अधिकारीले भनेका छन, ‘बिग्रँदो परिस्थितिलाई मध्यनजर गर्दै कर्फयु लगाइएको छ । संवेदनशील स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’