काठमाण्डु-चौथो तथा अन्तिम टी–२० मा भारतले दक्षिण अफ्रिकामाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा भारत १३५ रनको विशाल अन्तरले विजयी बनेको हो । योसँगै भारतले ४ खेलको शृङ्खला ३–१ ले जितेको छ ।
भारतले प्रस्तुत गरेको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १८ ओभर २ बलमा मात्र १४८ रन बनाउन सक्यो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रनको योगदान दिए । उनले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, डेभिड मिलरले ३६ रन तथा मार्को यानसेनले नटआउट रहँदै २९ रन बनाए ।
भारतका अर्शदीप सिंहले ३ ओभर बलिङ गर्दै २० रन खर्चेर ३ विकेट लिए । वरुण चक्रवर्ती र अक्षर पटेलले २–२ विकेट लिए । यसअघि, सञ्जु सामसन र तिलक वर्माको शतकको मद्दतले भारतले १ विकेटको क्षतिमा २८३ रन जोडेको थियो ।
पुरुष टी–२० अन्तर्राष्ट्रियमा यो पाँचौँ ठुलो स्कोर हो भने भारतले बनाएको सर्वाधिक दोस्रो ठुलो स्कोर पनि हो । गत महिना भारतले बंगलादेशविरुद्ध हैदराबादमा ६ विकेटको क्षतिमा २९७ रन बनाएको थियो । त्यस्तै, भारतले ३ पटक २५० वा सोभन्दा बढीको स्कोर बनाएको छ । पुरुष टी–२० अन्तर्राष्ट्रियमा यो पनि एउटा रेकर्ड हो ।
सञ्जुले ५६ बलमा १०९ रन बनाए भने तिलकले ४७ बलमा १२० रन बनाएका थिए ।
दुवैले मिलेर दोस्रो विकेटका लागि २१० रन जोडे । टी–२० अन्तर्राष्ट्रियमा भारतका लागि दोहोरो शतकको साझेदारी भएको पहिलो पटक हो । यसअघि, सबैभन्दा उच्च साझेदारी रोहित शर्मा र रिंकु सिंहबिच भएको थियो । दुवैले पाँचौँ विकेटका लागि १९० रन जोडेका थिए । दक्षिण अफ्रिकाका लागि एक मात्र विकेट लुथो सिपाम्लाले लिए ।
प्रतिक्रिया