श्रीलंकाविरुद्ध दोस्रो टी–२० मा पनि भारतको जित

श्रीलंकाविरुद्ध दोस्रो टी–२० मा पनि भारतको जित


काठमाण्डु-श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले लगातार दोस्रो जित निकालेको छ । सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो । पहिलो खेलमा भारत ४३ रनले विजयी भएको थियो ।

टस जितेर सुरुमा ब्याटिङको निम्तो दिएको भारतविरुद्ध श्रीलंकाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुसल परेराले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। पथुम निसानकाले ३२ रन जोड्दा कामिन्दु मेन्डिसले २६ रन बनाए । श्रीलंकाका कप्तान चरिथ असालान्का १४ रनमा आउट भएका थिए ।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रवि बिश्नोईले तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। भारतका लागि अक्षर पटेल, हार्दिक पाण्डेय र आर्शदीप सिंहले समान दुई–दुई विकेट हात पारे ।

१६२ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ सुरु गरे लगत्तै वर्षा भएपछि खेल अवरुद्ध भएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि आठ ओभरमा छोट्याइएपछि भारतले ७८ रनको चुनौती पाएको थियो । भारतले उक्त लक्ष्य ६.३ ओभरमा तीन विकेटको क्षतिमा ८१ रन बनाउँदै भेट्टाएको हो ।

भारतका लागि यशस्वी जैसवालले १२ बलमा सर्वाधिक ३० रन बनाउँदा कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रन जोडे । हार्दिक पण्डेयले ९ बल खेल्दै नटआउट २२ रन बनाए ।

श्रीलंकाका लागि महेश थेक्षाना, वानिन्दु हसरंगा र मथिसा पाथिरानाले एकएक विकेट हात पारे । यो जितसँगै भारत शृङ्खलामा २–० ले अगाडि छ ।