काठमाण्डु-युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले भारतका १९ वटा कम्पनीमाति प्रतिबन्ध लगाएको छ । अमेरिकाले भारतसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाको विदेश, अर्थ र वाणिज्य मन्त्रालयले संयुक्त रूपमा त्यस्ता कम्पनी र व्यक्तिहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको हो ।
अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका कम्पनीहरू छन् ।
अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् । त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन् । ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै यूके, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ ।
अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको यो पहिलो पटक होइन । यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन् । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ ।
अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारतीय रुपैया बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ ।
अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन् । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन् ।
ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ ।
भारतका विदेश मामिलाका जानकार रवीन्द्र सचदेवका अनुसार प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरू प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन् ।
तर प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर नपर्ने उनको दाबी छ ।
प्रतिक्रिया