नेपाल र भुटानजस्ता साना मुलुक भारतबाट अलग रहन नसक्ने भारतिय सेनाप्रमुखको दाबी

नेपाल र भुटानजस्ता साना मुलुक भारतबाट अलग रहन नसक्ने भारतिय सेनाप्रमुखको दाबी


पुने– भारतीय सेना प्रमुख विपिन रावतले नेपालबारे विवादित अभिव्यक्ति दिएका छन् । उनले नेपाल र भुटानजस्ता साना देशहरु भारतबाट अलग रहन नसक्ने टिप्पणी गरेका छन् । उनले दुवै देश आफ्नो भौगोलिक अवस्थाका कारण भारततर्फ बढी ढल्किएको दावी समेत गरेका छन् । उनले नेपाल चीनसंग ढल्कन नसक्ने समेत बताएका छन् ।

पुनेमा भएको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासपछि संचारकर्मीहरुसंग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो दावी गरेको भन्दै इण्डियन एक्सप्रेसले समाचार प्रकाशित गरेको छ ।
सैन्य अभ्यासमा नेपाल पर्यवेक्षकका रुपमा मात्र सहभागी भएपछि उनको यस्तो टिप्पणी आएको हो । सैन्य अभ्यासमा सहभागीता जनाउनेबारे देशभित्रै विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अन्तिममा आएर सेना सैन्य अभ्यासमा सहभागी हुनवाट रोकिएको थियो ।

माइलेक्स–१८ नामक सैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनतर्फ बढ्दो घनिस्टताबारे गरिएको प्रश्नमा सेनाप्रमुख रावतले भनेका छन् ‘उनीहरु भारतबाट अलग रहनै सक्दैनन् । नेपाल र भुटानजस्ता देश प्राकृतिक रुपमा पनि भारततर्फ ढल्किएका छन् ।’

सेना प्रमुख सिंहले नेपालको भौगलिक अवस्थाको कारण चीनभन्दा बढी भारततर्फ नै ढल्काएको दावी गरेका छन् । भारतको राजनीतिक नेतृत्वले नेबरहुड फस्ट र एक्ट इस्टको नीति अपनाएको भन्दै उनले बिमस्टेक त्यही प्रयासको हिस्सा भएको बताए ।

उनले भारत ठुलो राष्ट्र भएकाले सैन्य अभ्यासको अगुवाई गरेको भन्दै अन्य मुलुकले त्यसलाई पछयाउने दावी समेत गरे । उनले आफुहरु छिमेकीहरुसंग सम्बन्ध सुधारमा लागिरहेको समेत बताएका छन्।

सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरु मध्ये भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेशले भाग लिएको थियो भने नेपाल र थाइल्याण्डले पर्यवेक्षक पठाएको थियो ।