एजेन्सी – राहुल गान्धीले पद त्यागेपछि भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्ष प्रियंका गान्धी हुने संकेत देखिएको हो ।
कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकोमा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ ।
कांग्रेसभित्र दिग्गज एवं पुराना नेताहरु रहे पनि उनीहरु गान्धी परिवारको लिगेसी भनेपछि सम्मान गर्ने गर्छन् ।
पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले चंडिगढमा आयोजित कार्यक्रममा भने, ‘यदि प्रियंका अध्यक्ष बन्न राजी भए मेरो पूर्ण सहयोग छ । राहुलले यसमा पनि विचार गरुन् ।’ प्रियंका गान्धी यो पदका लागि उपयुक्त पात्र रहेको पनि सिंहको बुझाइ छ । सिंहले भनेका छन् – भारत युवाहरुको देश हो । कुनै युवाले नै पार्टीको नेतृत्व सम्हाल्नुपर्छ ।
गत आइतबार शशि थारुले पनि अध्यक्षका लागि वर्तमान महासचिव प्रियंका सामुन्ने हुन्छिन् कि हुन्निन् त्यो गान्धी परिवारले सोचोस् भनेका थिए ।
लोकसभा चुनावमा पार्टीले पराजय भोगेपछि नैतिकतामा आधारमा राहुल गान्धीले मे २५ तारिखमा पद त्यागेका थिए ।
प्रतिक्रिया