भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन

भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन


एजेन्सी– भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन भएको छ । उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी, द स्टैट्समेन, इंडियन एक्सप्रेसमा लामो समय काम गरेका थिए । उनका स्तम्भ लेखन र रिपोर्टिङ चर्चित छ । नैयरले २५ वर्ष द टाइम्स लण्डनको संवाददाताका रुपमा काम गरेका थिए ।
उनले भारत सरकारको प्रेस सूचना अधिकारी पदमा लामो समय काम गरेका थिए । नैयरलाई सन् १९९६मा संयुक्त राष्ट्रसंघका लागि भारतीय प्रतिनिधि मण्डलको सदस्य बनाइएको थियो । त्यसअघि उनी १९९०मा ब्रिटेनमा उच्चायुक्त भएर काम गरेका थिए भने १९९७ मा राज्यसभाको उम्मेदवार पनि बनेका थिए ।
नैयरका थुप्रै पुस्तक समेत प्रकाशित छन् । उनी पत्रकारका साथै सामाजिक अभियन्ता पनि हुन् । उनको बिहीबार दिउँसो अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।