काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली ‘परम्परा तोड्दै’ पहिलो विदेश भ्रमण चीनबाट गर्न थालेपछि भारतीय सञ्चारमाध्यमले टिप्पणीयुक्त समाचार प्रकाशन गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री ओलीले चीनको पहिलो विदेश भ्रमण गर्दा काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धमा तिक्तताको संकेत हुने गरी प्रचार गरेर समाचार बनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी १७ मंसिर (२ डिसेम्बर)मा चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्रीको आगामी चीन भ्रमणको सन्दर्भमा भारतीय मिडियाले कटाक्षपूर्ण खबर प्रकाशित गरिरहँदा एक चिनियाँ विशेषज्ञले भारतलाई किन दक्षिण एसियाली देशहरूमा चीनलाई बढ्दो रूपमा स्वागत गरिरहेको छ भनेर चिन्तन गर्न उत्प्रेरित गर्नुपर्ने बताएका छन् ।
चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्समा चीनको सिङ्गुआ विश्वविद्यालयका अनुसन्धान विभागका निर्देशक कियान फेङले लेख्छन्, ‘स्वतन्त्र राष्ट्र नेपालको सार्वभौमसत्ताप्रति भारतको अवहेलना मात्रै होइन, दक्षिण एसियाली देशहरूलाई आफ्नो पछाडिको आँगनजस्तै व्यवहार गर्ने भारतको ‘मोनरो सिद्धान्त’को मानसिकता पनि झल्काउँछ ।
‘नेपालका प्रधानमन्त्रीले गर्ने चीन भ्रमणबाट भारतसँगको सम्बन्धमा परिवर्तन आएको संकेत गर्दैन । चीनसँगको सहयोग र भारतसँगको सहयोग नेपालका लागि एकअर्कासँग विशेष होइन’ छियानले लेखेका छन् ।
भारतीय पत्रिका द हिन्दुलगायत मिडियाले चौथो पटक कार्यभार सम्हालेपछि ओलीको पहिलो द्विपक्षीय विदेश यात्रा भारत भ्रमण नगर्ने ‘पहिलो नेपाली नेता’ बनाउने चिनियाँ प्रपञ्च भएको टिप्पणी गरेका छन् ।
विज्ञहरूलाई उद्धृत गर्दै द हिन्दु लेख्छ, ‘ओलीको चीन भ्रमणले नेपाल–भारत सम्बन्धमा तनाव अझै रहेको संकेत गर्छ । थप हवाई रुटका लागि नेपालको विचाराधीन अनुरोधलगायत थुप्रै विषयमा दुई देशको सम्बन्धमा तनाब रहेको पाइएको छ । चिनियाँ ऋणमा बनेको पोखराको नवनिर्मित विमानस्थल घाटामा छ ।’
इन्डियन एक्सप्रेसले पनि ओलीको चीन भ्रमणलाई ‘परम्पराबाट विच्छेद’ भनेर टिप्पणी गरेको छ ।
दवायरको अंग्रेजी संस्करणले नयाँ दिल्ली र वासिङ्टन दुवैले ओलीको बेइजिङ भ्रमण र दुई देशबीच हुने सम्भावित सम्झौतालाई नजिकबाट नियालिरहेको लेखेको छ ।
प्रतिक्रिया