भारतीय प्रधानमन्त्री मोदीले लेखे समकक्षी ओलीलाई दुई पन्ने पत्र

भारतीय प्रधानमन्त्री मोदीले लेखे समकक्षी ओलीलाई दुई पन्ने पत्र

ओलीको प्रशंसा, विकास र समृद्धिमा मिलेर कार्य गर्ने प्रण


काठमाण्डु-भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा बधाई दिएका छन् ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले हालै दुई पन्नाको छुट्टै लिखित बधाई पठाएका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार बधाई पत्रमा भारतीय प्रधामनन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई बधाई दिनुको साथै दुई देशबीचको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग गरेको सहकार्यको पत्रमा स्मरण गरेका छन् ।

विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने मोदीले ओलीलाई पठाएको छ ।

मोदीको दुई पन्ने लामो बधाई पत्रमा नेपाल र भारत सदियौँ पुरानो सम्बन्धमा जोडिएको र दुई देशको जनस्तरको सम्बन्ध राम्रो भएको उल्लेख छ । नेपाललाई भारतको छिमेक प्रथम नीति अन्तर्गतको प्राथमिकतामा परेको साझेदार भनेर मोदीले पत्रमा चित्रित गरेका छन् ।

मोदीले ओलीको नेतृत्व अनुभवको प्रशंसा गर्दै ती गुणको कारण दुई देशका वृहत् क्षेत्रको साझेदारीमा सहयोग पुग्ने आशा पत्रमा उल्लेख गरेका छन् ।

यसअघि मोदीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए ।
सामाजिक सञ्जाल एक्समा मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका थिए ।

दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,’ मोदीले भनेका थिए ।