कवाडका सामान सङ्कलन गर्ने बहानामा चोरी गर्ने भारतीय गिरोहका दुई जना पक्राउ

कवाडका सामान सङ्कलन गर्ने बहानामा चोरी गर्ने भारतीय गिरोहका दुई जना पक्राउ


काठमाडौं – भारतको विहार राज्यका मोतिहारी र समस्तिपुरबाट चोरी गर्ने विभिन्न समूह बनाएर नेपाल प्रवेश गरेका गिरोहको दुई सदस्यलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

मोतिहारी, गुम्ती थान मोतिपुर–३२ का १९ वर्षीय करण पोदार र बिहारको समस्तिपुरस्थित महदिलगर थानाका १७ वर्षीय सुरज पोद्दार चोरीको अभियोगमा पक्राउ परेका छन् ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ७२ हजार, अमेरिकी डलर १ हजार १ सय ३५, चोरी गर्दा प्रयोग गरिने फलामको रड, दुई वटा हिराको औंठी, विभिन्न सुनका गरगहना अन्दाजी ६ तोला, मोतीको माला ३ वटा, क्यानडियन डलर ५५, लागूऔषध फेनेरागन, डाइजिल्याप, नोफिन ७८ वटा लगायतसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कवाडका सामानहरु सङ्कलन गर्ने बहाना बनाएर घरमा कोही नभएको मौका पार्दै घरको ढोका र झ्याल फोडेर चोरी गर्ने गरेको उप्रेतीले बताए ।