मोहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

मोहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख


काठमाण्डु-नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने बताएका थिए ।

राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुफलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाइएको जानकारी दिएका बीबीसी समाचारमा उल्लेख छ ।

मंगलबार राष्ट्रपति भवनमा भएको बैठकले युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको हो । बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।

राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन्, म कसरी अस्वीकार गर्छु ।’

मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको थियो ।

यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

मुहम्मद युनुस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् । किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन् । युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन्