काठमाडौं – आगामी साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका इन्टरनेट सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेका छन् ।
अघिल्लो वर्ष राखिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता नभएकाले इन्टरनेटको मूल्य बढाउन लागिएको आइस्पानका अध्यक्ष भोजराज भट्टले बताए । भट्टले आफुहरु वित्तीय रूपमा नाजुक अवस्थामा रहेको र अब पनि मूल्य समायोजन गरेर बस्न नसक्ने बताए । उनले साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको २० प्रतिशतसम्म मूल्य बढाउने तयारी भएको बताए ।
अध्यक्ष भट्टले अघिल्लो वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने बताए ।
‘टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नु पर्नेछ,’ बुधबार अर्थमन्त्री खतिवडाले संसद्मा पेस गरेको आर्थिक विधेयकमार्फत इन्टरनेटमा लाग्ने थप १३ प्रतिशत शुल्कलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।
अध्यक्ष भट्टले सरकारसँग गरेको सहमति कार्यान्वयन गर्न नसक्ने बताए । उनले भने, ‘अब दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउँछौं ।’ उनले यो अवधिमा सरकारलाई आफूसँगको सम्झौता कार्यान्वयन गर्न दबाब दिने बताए ।
प्रतिक्रिया