प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनु सहज देखिँदैन : डा. निहार नायक

प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनु सहज देखिँदैन : डा. निहार नायक


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीको चर्चाबीच दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय अधिकारीसँग भेटवार्ता गर्न नसकेपछि भारतीय पक्षको असन्तुष्टि सतहमा देखिएको छ ।

अघिल्लोपटक भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्चस्तरीय भेटवार्ता गरेकी मन्त्री देउवा यसपटक प्रधानमन्त्री ओलीको भ्रमणको तयारीमा सफल हुन सकिनन् । दक्षिणी छिमेकी भारतसँगको असझदारीबीच प्रधानमन्त्री ओली सत्तामा छन् तर दक्षिणले उनको सत्तायात्रालाई सहज देखेको छैन ।

भारत–नेपाल मामिलाका जानकार डा. निहार नायकले सामाजिक सञ्जाल एक्समा लेख्दै सन् २०२५ मा नेपालमा राजनीतिक उथलपुथल हुने भविष्यवाणी गरेका छन् । लेखक, अनुसन्धाता डा. निहार नायक इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर हुन् । उनले नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) बाट अन्तर्राष्ट्रिय राजनीतिमा पीएचडी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन मुस्किल परिरहेका बेला दक्षिणले नेपालमा के उथलपुथल देखिरहेको छ ? यसै सन्दर्भमा भारतीय कूटनीतिज्ञ डा. निहार नायकले काठमाण्डुपाटीसँग गरेको कुराकानीको सम्पादित अंशः

अंग्रेजी नयाँ वर्ष सन् २०२५ को सन्दर्भमा नेपालमा राजनीतिक उथलपुथल हुने संकेत गर्नुभयो, दक्षिणको नजरमा त्यस्तो के देखिँदैछ ?

– हामीले नेपाली राजनीतिलाई नजिकबाट हेर्दा सन् २०२४ मा ३ सरकार बनेका छन्, नेपालमा अस्थिरता छ । सन् २०२५ मा अझ खराब स्थिति देखिँदैछ । ओली सरकारले काम गरेर देखाउन सकेको छैन, जनतामा असन्तुष्टि छ । अस्थिरता बढ्ने र जनता सडकमा आउने अवस्था देखिन्छ ।

तपाईंले देखेको अस्थिरताको आधार के हो ?

– खासगरी जातीय संघीयता पक्षधरहरू लिम्बुवान, किराँत पक्षधरहरू कोशी प्रदेशमा सक्रिय हुनसक्छन्, मधेशी नेताहरू सामूहिक मोर्चाबन्दी र गठबन्धन बनाउन खोज्दैछन्, रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन्, यी सबै गतिविधि ओली सरकारको अनुकूल छैनन् । सरकार ठीकसँग चलेको छैन, राजनीतिक दलहरू सडकमा आउन सक्छन् ।

यस्तो अवस्थामा असन्तुष्ट पक्षधर झनै सक्रिय हुनेछन् । आदिवासी जनजाति समूहको माग बढ्नेछ, संविधान संशोधनको कुरा गर्दा एक मधेश एक प्रदेशको माग उठ्न सक्छ । यो अस्थिरता सन् २०२७ ( विक्रम संवत् २०८४) को चुनावसम्मै कायम रहेर त्यो चुनावमा पनि कुनै पनि दलको बहुमत पाउने छैन ।

तपाईंले मधेश केन्द्रित नेताहरू एकजुट हुने कुरा गर्नुभयो तर मधेशका नेताहरूले एकअर्कालाई स्वीकार्ने अवस्था छैन, अस्ति भर्खर नेता राजेन्द्र महतोले छुट्टै पार्टी बनाउनुभयो, यस्तो बेमेलमा कसरी एकजुट हुनसक्छन् ?

– मधेशमा नेता हृदयेश त्रिपाठीजीले एकजुट गर्ने प्रयास गरिरहेका छन् । एजेन्डामा सहमति जुटेपछि नेतृत्व आलोपालो गर्ने, संसदीय सिटका आधारमा अगुवाइ गर्ने र पद बाँडफाँट गर्ने समझदारी हुनसक्छ । अर्काेतिर नेता प्रभु साहको पार्टीले मधेश बाहिर पनि सक्रियता बढाएको छ । अब मधेश केन्द्रित नेताहरू तराईमा मात्रै सीमित छैनन्, देशभर फैलिन कोसिस गर्दैछन् । यी सबैको मोर्चा बनेमा राजनीतिक प्रभाव र हस्तक्षेप बढ्ने देखिन्छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपा नेताहरूको भेटवार्ताको सन्देश के गएको छ ?

– सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपामा नेतृत्वको संकट देखिएको छ । रास्वपाले यतिबेला ठूलो नेता छैन । त्यसैले रास्वपाले डा. भट्टराईलाई नेताको रूपमा स्वीकार गर्न सक्छ । डा. भट्टराई हाल सक्रिय रहेको पार्टीसँग जनाधार छैन तर रास्वपासँग जनाधार छ । दुवै पक्षबीच मेलमिलाप भएमा दुवै पक्षका संकट टर्नेछन्, रास्वपाले नेता पाउनेछ र डा. भट्टराईले जनाधार पाउनेछन् । रास्वपा पार्टी भ्रष्टाचार विरोधी छविको पार्टीको रूपमा छ, पुराना नेताहरूमध्ये हेर्दा डा. भट्टराई भ्रष्टाचारको दाग नलागेको निष्कलंक नेता हुनुहुन्छ, उहाँ रास्वपाका लागि उपयुक्त व्यक्ति हो ।

हालै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दिल्ली भ्रमणमा रहँदा भारतीय नेताहरूले भेट नदिएको विषयले नेपालमा नकारात्मक सन्देश गएको छ, यसो किन भएको हो ?

– त्यो उहाँको निजी भ्रमण थियो, द्विपक्षीय औपचारिक भ्रमण थिएन । उहाँले दिल्लीमा रहँदा भारतीय नेताहरू दिल्लीमा थिएनन्, त्यसैले भेटघाट सम्भव भएन । अर्काेकुरा उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कुरा गर्न खोज्नुभएको थियो तर भारतको यतिबेला ओलीको भ्रमणमा रुचि छैन ।

भारतीय नेता र कर्मचारीहरू काठमाण्डु आउँदा सोझै राष्ट्रपति–प्रधानमन्त्रीलाई भेट्छन्, हामीले पनि दिल्लीमा त्यस्तै व्यवहारको अपेक्षा गर्छाैं नि !

– यस्तो अपेक्षा गर्नु अस्वाभाविक हो । भारत ठूलो देश हो, धेरै देशसँग सम्पर्क छ । आर्थिक, राजनीतिक विवादमा निरन्तर सक्रिय हुनुपर्छ । हाम्रो नेतृत्व र प्रशासनसँग त्यतिधेरै समय हुनुपर्‍यो नि ! हाम्रो यहाँ पहिल्यैदेखि सेड्युल हुनसक्छ ।

भारतले परराष्ट्रमन्त्री डा. देउवालाई बेवास्ता गर्‍यो भन्ने चर्चा छ नेपालमा !

– यसलाई बेवास्ता भन्नु हुँदैन, यो भारतीय पक्षको व्यस्तता हो । पूर्वजानकारी विना उहाँ आउनुभयो, भारतीय पक्ष अन्य कुरामा व्यस्त रहेका बेला भेटवार्ता सम्भव हुँदैन । यतिबेला अमेरिकामा ट्रम्प प्रशासन आउँदैछ, अब अमेरिका–भारत सम्बन्ध कस्तो बन्ला ? बंगलादेशको विषय छ, यी विषयमा भारतीय पक्ष चनाखो भएर बस्नुपरेको छ । भारतको प्राथमिकतामा परेका विषयमा ध्यान दिनुपरेकाले भेटवार्ता सम्भव नभएको हुनसक्छ, यसलाई बेवास्ता भन्नु गलत हुन्छ ।

अब प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीका लागि भारतीय पक्ष कहिले लाग्छ ?

– प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनु सहज देखिँदैन । भारतीय नेताहरूसँग परराष्ट्रमन्त्री डा. देउवाको व्यक्तिगत सम्बन्ध भए पनि प्रधानमन्त्रीको भ्रमण गराउने विषय २ देशबीचको कूटनीतिक कुरा हो, राज्यको विषयमा व्यक्तिगत सम्बन्धले खासै प्रभाव पार्दैन ।

भारतीय पक्षले के चाहन्छ त ?

– भारतले नेपालमा स्थिर सरकार चाहन्छ । अस्थिरताले भारतलाई पनि नकारात्मक प्रभाव पर्छ । विकल्प के छ त भन्दा केही सक्षम नेताहरूले सही हिसाबले देशलाई सही दिशा दिन सक्छन् । नेपाली राजनीतिमा राम्रा नेता पनि छन्, जस्तैः शेखर कोइराला । सही नेताले नेपालमा मौका पाउनुपर्छ, राजनीतिक स्थिरता कायम हुनुपर्छ, त्यसपछि सकारात्मक वातावरण बन्न सक्छ ।