सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ

सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ


काठमाण्डु- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् ।

आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् । उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षिय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् ।

उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् । उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।