काठमाण्डु – १८ औँ संस्करणको आईपीएल क्रिकेटमा आइतबार दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले विजयी शुरुआत गरेको छ । १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत गरेको हो ।
कोलकाताको घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो । आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । फिल साल्टले ५६ रन जोडे । कप्तान रजत पाटीदार ३४ रनमा आउट भए । कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए ।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो । कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए । सुनिल नारायण ४४ रनमा आउट भए । बेंङ्गलुरुका कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए ।
प्रतिक्रिया