काठमाण्डु – क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले बिहीबार २ कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता र ओम मेघाश्री फर्मास्युटिकल्सले १८ लाख कित्ता शेयर निष्कासन अनुमति पाएका हुन् । दुवै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने अनुमति बोर्डले दिएको छ ।
सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष भएर आएपछि आईपीओ निस्कासनको अनुमति पाउने यी कम्पनी पहिला हुन् । बिहीबार दुवै कम्पनीले अनुमति पाएसँगै लामो समय अवरुद्ध आईपीओ निष्कासन प्रक्रियाले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएलएस क्यापिटल र ओम मेघाश्री फर्मास्युटिकल्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छन् ।
बोर्डले प्राथमिक निष्कासन अनुमति दिँदै गर्दा भने बूक बिल्डिङ र प्रिमियममा शेयर निष्कासन अनुमति मागेका कम्पनीलाई भने अझै पनि स्वीकृति दिएको छैन । अर्कोतर्फ सबैभन्दा बढी जलविद्युत् कम्पनीको निवेदन भए पनि उनीहरूले भने अझै अनुमति पाएका छैनन् ।
प्रतिक्रिया