काठमाण्डु-अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा नेपाल पहिलोपटक निर्वाचित भएको छ ।
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य आईपीयूको दिगो विकास स्थायी समिति सदस्यमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी हुन् ।
उज्बेकिस्तानको राजधानी तास्कन्दमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका उम्मेदवारलाई पछि पार्दै शाक्य निर्वाचित भएकी हुन् ।
सभामुख देवराज घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यलाई समर्थन गर्न आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र पठाउँदै निर्वाचित गर्न आग्रह गरेका थिए ।
सभामुख घिमिरे र शाक्यसहितको प्रतिनिधिमण्डल अन्तर–व्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन अहिले उज्बेकिस्तानको राजधानी तास्कन्दमा छन् ।
शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी दिएकी थिइन् । यो मञ्चमा पहिलोपटक उपस्थिति जनाएको नेपाल पहिलो प्रयासमै निर्वाचित भएको हो ।
शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक पनि हुन् ।
प्रतिक्रिया